चीन र क्यानडाले द्विपक्षीय व्यापार सम्बन्ध थप विस्तार गर्ने सहमति गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच मंगलबार चीनको सेन्जेनमा भएको भेटवार्तामा दुवै देशले व्यापार सहकार्य बढाउने र केही वस्तुमा भन्सार छुटसम्बन्धी दायरा विस्तार गर्ने सहमति गरेका हुन् ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि भएको भेटवार्तामा चीनले क्यानडाबाट आयात हुने पोर्क, माछा तथा समुद्री खाद्दान्नमा थप भन्सार छुट दिने भएको छ । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका अनुसार करिब ४० करोड क्यानेडियन डलर (२८ करोड अमेरिकी डलर) बराबरका क्यानडेली निर्यातमा चीनले भन्सार सहुलियत उपलब्ध गराउनेछ । यसमा फ्रोजन पोर्कको मासु, माछा तथा अन्य समुद्री खाद्य सामग्री समावेश छन् ।
यसको बदलामा क्यानडाले चीनबाट आयात हुने केही स्टिल तथा आल्मुनियम उत्पादनमा दिँदै आएको भन्सार छुटसम्बन्धी व्यवस्था थप दुई वर्षका लागि विस्तार गर्ने भएको छ । उक्त व्यवस्था सन् २०२६ को अन्त्यमा समाप्त हुँदै थियो ।
प्रधानमन्त्री कार्नीले चीनसँगको सम्बन्धमा थप स्थिरता र पूर्वानुमान गर्न सकिने अवस्था विकास भएको बताएका छन् । उनले सन् २०३० को दशकको अन्त्यसम्म चीनतर्फ क्यानडाको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य राखिएको र त्यस दिशामा अपेक्षाभन्दा तीव्र गतिमा प्रगति भइरहेको पनि बताएका छन् ।
अमेरिकामाथिको अत्यधिक व्यापारिक निर्भरता घटाउने कार्नीको आर्थिक रणनीतिका लागि चीनसँगको व्यापार विस्तार महत्त्वपूर्ण मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाका विभिन्न उत्पादनमा उच्च भन्सार शुल्क लगाएपछि क्यानडाले अन्य बजारमा आफ्नो निर्यात विस्तार गर्ने प्रयास गरिरहेको छ ।
भेटवार्तामा राष्ट्रपति सीले गत जनवरीमा दुई देशबीच रणनीतिक साझेदारी अघि बढाउने सहमति भएपछि विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्य पुनः सुरु भएको बताए । उनले व्यापार, ऊर्जा, कृषि र वित्तसँगै हरित अर्थतन्त्र, डिजिटल अर्थतन्त्र तथा ई–कमर्समा सहकार्य विस्तार गर्नुपर्ने प्रस्ताव अघि सारे ।
त्यस्तै, दुवै देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार र बहुपक्षीय व्यापार प्रणालीको संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो । चीन र क्यानडाबीचको सञ्चार तथा सहकार्यले दुई देशका साथै एसिया–प्रशान्त क्षेत्र र विश्वलाई नै फाइदा पुग्ने पनि सीले बताएका छन् ।
सी र कार्नीबीच मंगलबार भएको भेट कार्नी प्रधानमन्त्री बनेपछि तेस्रो हो । यसअघि उनीहरू गत वर्ष दक्षिण कोरियामा आयोजित एपेक शिखर सम्मेलनका क्रममा पनि भेटेका थिए ।
पछिल्लो समय चीनले क्यानडाको तोरीको बीउ, तोरीको पिना, लब्स्टर, गंगटा र केराउमा समेत भन्सार सहुलियत विस्तार गरेको छ । सन् २०२६ मा चीनतर्फ क्यानडाको कच्चा तेल निर्यात अघिल्लो अवस्थाको तुलनामा करिब ३७ प्रतिशतले बढेको रोयटर्सले एलएसईजीको तथ्यांकका आधारमा गरेको गणनाले देखाएको छ ।
यद्यपि, चीनसँगको निकटताले क्यानडाको राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक मूल्यमा असर पार्न सक्ने भन्दै सुरक्षा विश्लेषक तथा मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूले हङकङका लोकतन्त्र समर्थक सञ्चार उद्यमी जिम्मी लाइको कारावास, गत वर्ष चार क्यानडेली नागरिकलाई चीनले मृत्युदण्ड दिएको घटना र क्यानडाका कम्तीमा दुई संघीय निर्वाचनमा चीनको हस्तक्षेप भएको गुप्तचर निकायको निष्कर्षलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
तर चीनले भने क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताउँदै आएको छ ।