गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राजनीतिक दलमा आबद्ध आफ्ना पदाधिकारी तथा सदस्यलाई सात दिनभित्र त्यस्तो आबद्धता त्याग्न अल्टिमेटम दिएको छ ।
एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काले एक परिपत्र जारी गर्दै राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा पदाधिकारी तथा कार्यकारी सदस्यका रूपमा रहेका व्यक्तिलाई पद वा सदस्यता त्याग्न निर्देशन दिएका हुन् ।
संघको विधानले गैरराजनीतिक संस्थाका रूपमा स्थापित गरेको भन्दै खड्काले राजनीतिक आबद्धता संघको संस्थागत चरित्रविपरीत हुने उल्लेख गरेका छन् । परिपत्र प्राप्त भएको सात दिनभित्र राजनीतिक संस्थामा रहेको पद वा सदस्यता त्यागेर त्यसको आधिकारिक प्रमाणसहित सचिवालयमा जानकारी गराउन भनिएको छ ।
संघका केही पदाधिकारी तथा सदस्य राजनीतिक उद्देश्य भएका संस्था वा संगठनमा आबद्ध रहेको भन्दै विभिन्न उजुरी तथा गुनासा प्राप्त भएपछि यस्तो निर्णय गरिएको परिपत्रमा उल्लेख छ । यस विषयमा अक्टोबर ४ र ५ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७औँ बैठकमा समेत छलफल भएको थियो ।
निर्धारित समयभित्र राजनीतिक आबद्धता त्यागेको प्रमाण नबुझाएमा वा छानबिनका क्रममा विधानविपरीत कार्य गरेको पाइएमा विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने एनआरएनएले चेतावनी दिएको छ ।
संघमा नेकपा एमाले र नेपाली कांग्रेसनिकट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको एक उपाध्यक्षले बताए । उनले एमालेमा सक्रिय आबद्ध १२ जना रहेको र कांग्रेसका पनि धेरै महाधिवेशन प्रतिनिधि संघमा रहेको बताए ।
राजनीतिक दलमा आबद्ध नरहेको घोषणा गरेर एनआरएनएको पद लिएका व्यक्तिले विधानको पालना गर्नुपर्ने उनको भनाइ छ ।