राजस्थानमा भाजपालाई ठुलो धक्का : मुख्यमन्त्रीको गृहजिल्ला र मन्त्रीकै क्षेत्रमा पार्टी पराजित

आप्रवासन आप्रवासन

भारतको राजस्थानमा सम्पन्न जिल्ला परिषद् र पञ्चायत समितिको निर्वाचन परिणाम सार्वजनिक भएको छ। 

कुल ४१ जिल्ला परिषद्मध्ये नतिजा सार्वजनिक भएका ३७ परिषद्मा भारतीय राष्ट्रिय कङ्ग्रेसले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई पराजित गर्दै सानदार जित हासिल गरेको छ। बाँकी चार जिल्ला परिषद्को मतगणना आगामी डिसेम्बर १७ मा हुनेछ।

चुनावी नतिजापछि कङ्ग्रेसले यसलाई सन् २०२८ मा हुने विधानसभा निर्वाचनअघिको जनताको रोजाइका रूपमा व्याख्या गरेको छ। अर्कोतर्फ, भाजपाले आफ्नो हार स्वीकार गर्दै पराजयका कारणबारे गम्भीर मन्थन गर्ने प्रतिक्रिया दिएको छ। राज्यमा तीन वर्षदेखि भाजपाको सरकार रहँदारहँदै आएको यस नतिजाले पार्टीलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।

निर्वाचनको सबैभन्दा रोचक पक्ष भाजपाका दिग्गज नेता तथा मन्त्रीहरूकै निर्वाचन क्षेत्रमा पार्टीले बेहोरेको पराजय बनेको छ। राज्यका मुख्यमन्त्री भजनलाल शर्माको गृहजिल्ला भरतपुरमा कङ्ग्रेसले जित दर्ता गरेको छ भने मुख्यमन्त्रीकै विधानसभा क्षेत्र साङ्गानेरमा राष्ट्रिय लोकतान्त्रिक पार्टी (आरएलपी) विजयी भएपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

त्यसैगरी, भाजपाका क्याबिनेट मन्त्री झाबर सिंह खर्राकी श्रीमती र छोराहरूसहित परिवारका चार सदस्यले चुनाव हारेका छन्। चिकित्सा मन्त्री गजेन्द्र सिंह खींवसरको विधानसभा क्षेत्रअन्तर्गत लोहावट पञ्चायत समितिमा भाजपाका एक जना पनि उम्मेदवार विजयी हुन सकेनन्।

क्याबिनेट मन्त्री डा. किरोडी लाल मीणाको विधानसभा क्षेत्र सवाई माधोपुरका २३ वार्डमध्ये भाजपा केवल ६ स्थानमा सीमित भएको छ। यस्तै, मन्त्री बाबुलाल खराडीको क्षेत्रमा १५ मध्ये ५ वार्ड तथा क्याबिनेट मन्त्री राज्यवर्धन सिंह राठौड़को विधानसभा क्षेत्रमा १५ मध्ये केवल एक वार्डमा मात्र भाजपाले जित हासिल गरेको छ।

चुनावी परिणामप्रति खुसी व्यक्त गर्दै कङ्ग्रेस नेता राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मतदातालाई धन्यवाद दिएका छन्। पञ्चायत चुनावमा जनताले कङ्ग्रेसप्रति देखाएको विश्वास अब पार्टीको जिम्मेवारी बनेको उल्लेख गर्दै उनले भने, ‘यो जवाफ भाजपाको आफ्नै सरकार भएको राज्यबाट सिधै डबल इन्जिनलाई आएको छ। यो केवल राजस्थानको जनादेश होइन, देशको हरेक गाउँको आवाज हो।’