यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

आप्रवासन आप्रवासन

यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो राखेको बताए।

उनले यमन र आसपासका क्षेत्रमा जारी सैन्य तनावप्रति राष्ट्रसंघ गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गर्दै लालसागर क्षेत्रमा रहेका यमनका बन्दरगाहहरूको सञ्चालन निरन्तर कायम राख्नुपर्नेमा जोड दिए । ती बन्दरगाह लाखौँ यमनी नागरिकका लागि जीवनरेखाका रूपमा रहेको उनको भनाइ थियो।

हकले सबै पक्षलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गतका दायित्व पालना गर्न आग्रह गरे । सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्न नपाइने व्यवस्था पालना गर्न र सर्वसाधारण तथा नागरिक सम्पत्तिलाई क्षति हुनबाट जोगाउन निरन्तर सावधानी अपनाउन उनले आग्रह गरे ।

यमनको द्वन्द्वको समाधान सैन्य माध्यमबाट सम्भव नरहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई राजनीतिक वार्तामा फर्कने बाटो खोज्न आह्वान गरे । यसैबिच, यमनमा बढ्दो हिंसा र मानवीय सहायता पुर्याउन लगाइएका कडा प्रतिबन्धका कारण सर्वसाधारण नागरिकले निरन्तर कठिनाइ भोगिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता निकायहरूले जनाएका छन्।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार ताइज सहरमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव झन् गम्भीर बन्दै गएको छ। स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै कार्यालयले त्यहाँ उपलब्ध खाद्यान्न मौज्दातले स्थानीय बासिन्दाको कुल आवश्यकताको केवल १० प्रतिशत मात्र धान्न सक्ने जनाएको छ।

कार्यालयका अनुसार सडकहरू बन्द रहेकाले खाद्यान्न, औषधि र पानीको आपूर्ति ९० प्रतिशतले घटेको छ। खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको आपूर्ति ९७ प्रतिशतसम्म घटेको छ। यसबीच खाद्यान्नको मूल्य ६० प्रतिशत र इन्धन तथा ग्यासको मूल्य ३०० प्रतिशतले बढेको छ। यातायात खर्चसमेत चार गुणा वृद्धि भएको ओसीएचएले जनाएको छ।

औषधि, खोप तथा स्वास्थ्य सामग्रीको अभावले स्वास्थ्य सेवा प्रवाहमा समेत अवरोध सिर्जना गरेको छ। विशेषगरी बालबालिका, गर्भवती महिला तथा दीर्घरोगबाट प्रभावित व्यक्तिहरू स्वास्थ्य सेवाको अभावबाट बढी प्रभावित भएका छन्।

निरन्तरको लडाइँ र आवागमनमा प्रतिबन्धका बाबजुद मानवीय सहायता साझेदार संस्थाहरूले ताइज प्रान्तका विस्थापित परिवारलाई सहयोग जारी राखेको कार्यालयले जनाएको छ।

ओसीएचएले सर्वसाधारण नागरिक तथा शरणार्थीको सुरक्षा सुनिश्चित गर्न र मानवीय सहायता सुरक्षित, निरन्तर तथा निर्बाध रूपमा प्रभावित क्षेत्रमा पुर्याउन आग्रह गरेको छ। साथै, ताइज सहरमा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री पुर्याउन प्रमुख आपूर्ति मार्गहरू पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ।