अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा नीतिका बाबजुद अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या बढेको छ ।
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार मे महिनामा ८१८ जना नेपालीले अमेरिकाको विद्यार्थी भिसा प्राप्त गरेका छन् ।
मेमा उनीहरूका ७० जना डिपेण्डेण्टले पनि भिसा पाएका छन् ।
चालु अमेरिकी आर्थिक वर्षमा कुनै पनि महिना सो सङ्ख्यामा नेपाली विद्यार्थीले भिसा पाएका थिएनन् ।
अमेरिकामा आर्थिक वर्ष अक्टोबरबाट सुरु भई सेप्टेम्बरमा अन्त्य हुन्छ ।
जस अनुसार गत अक्टोबरमा ७१२, नोभेम्बरमा १६७ र डिसेम्बरमा ६१६ नेपाली विद्यार्थीले भिसा पाएका थिए ।
गत जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या ७५० थियो ।
जबकि, जनवरी महिनामा आप्रवासीप्रति निकै कठोर मानिएका ट्रम्पले सत्ता सम्हालेका थिए ।
ट्रम्पले सत्ता सम्हालेयता अन्य देशका विद्यार्थीलाई दिइने भिसा घटिरहँदा नेपाली विद्यार्थीलाई प्रदान गरिएको भिसा भने नघटेको हो ।
फेब्रुअरीमा पनि ८०२ नेपालीले विद्यार्थी भिसा पाएका थिए ।
त्यसपछिका २ महिना भने भिसा दर केही घटेको थियो ।
मार्चमा ७६१ र अप्रिलमा ७०१ जना नेपाली विद्यार्थीलाई भिसा दिइएको थियो ।
तर मे महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या फेरि बढेको हो ।
योसँगै चालु अमेरिकी आर्थिक वर्षको ८ महिनामा अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीको सङ्ख्या ५ हजार ३२७ पुगेको छ ।