श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ ।
सोमबार भएको उक्त भेटवार्तामा युएईमा कार्यरत नेपाली कामदारका लागि न्यूनतम एक हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको हो ।
मन्त्री भण्डारीले विगत लामो समयदेखि नेपाली श्रमिकहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको स्मरण गराउँदै अब न्यूनतम एक हजार दिराम तलब र थप ४०० दिरामबराबरको आवास तथा खानाको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
जवाफमा राजदूत अलशाम्सीले नेपाल सरकारद्वारा तय गरिएको न्यूनतम तलबको व्यवस्थालाई युएई सरकारले सकारात्मक रूपमा लिएको बताए । यसको कार्यान्वयनमा आफूहरूको पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
भेटमा राजदूत अलशाम्सीले महिला घरेलु कामदारका लागि नेपाल सरकारले अघि सारेको पाइलट परियोजनाबारे समेत चासो व्यक्त गरेका थिए । मन्त्री भण्डारीले पाइलट परियोजनाका लागि सबै आन्तरिक तयारी सम्पन्न भइसकेको जानकारी दिएको उनको सचिवालयले उल्लेख गरेको छ ।