बहराइनमा आप्रवासी

बहराइनमा आप्रवासीमाथि व्यापक धरपकड, २४२ लाई देश निकाला

आप्रवासन आप्रवासन

बहराइनमा अवैध आप्रवासीमाथि व्यापक धरपकड गरिएको छ ।

बहराइनको श्रम बजार नियमन प्राधिकरणले जुन २९ देखि जुलाई १२ सम्ममा देशभरका १ हजार १६७ रोजगारदाता कम्पनीहरूमा छापा मारेको कुवेती पत्रिका अरब टाइम्सले जनाएको हो ।

छापा मार्ने क्रममा प्राधिकरणले २४२ जना अवैध आप्रवासीलाई पक्राउ गरेर देश निकाला गरेको छ ।

यस्तै, १९ जना आप्रवासीलाई डिटेन्सन सेन्टरमा राखिएको छ ।

उनीहरूलाई गैर कानुनी रूपमा बहराइनमा लुकिछिपी बसिरहेकोसँगै श्रम तथा आवासीय कानुन उलङ्घन गरेको अभियोगमा पक्राउ गरिएको हो ।

यद्यपि, यसरी पक्राउ र देश निकालामा पर्नेमा नेपाली भए नभएको खुलेको छैन ।

प्राधिकरणले धरपकड अभियानलाई जारी राख्ने समेत बताएको छ ।

बहराइनको अर्थतन्त्र र सामाजिक सुरक्षाका लागि अभियान आवश्यक रहेको प्राधिकरणको तर्क छ ।

नेपालबाट पनि बर्सेनि हजारौँ नेपाली रोजगारीका लागि बहराइन जाने गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै ९ हजार ८०६ नेपाली बहराइन गएका छन् ।

बहराइनमा हाल करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

यद्यपि, त्यसमध्ये कति नेपाली अवैध हैसियतमा छन् भन्ने यकिन  छैन ।