साउदीको आममाफी

भिजिट भिसामा साउदी गएर ओभरस्टे गरेकालाई आममाफी

आप्रवासन आप्रवासन

साउदी अरबले भिजिट भिसामा आएर ओभरस्टे गर्ने विदेशी नागरिकलाई आममाफीको घोषणा गरेको छ ।

साउदी सरकारले पर्यटन, व्यापार, परिवार वा उमराह पर्मिट भिसामा आएर भिसाको म्याद सकिए पनि बसिरहेका विदेशीलाई आममाफी दिएको हो ।

जस अनुसार त्यस्ता विदेशी नागरिकहरूले ३० दिनभित्र साउदी छाड्नुपर्ने छ ।

आममाफीको अवधि जुन २७ देखि सुरु भइसकेको छ ।

आममाफीको अवधिमा साउदी छाड्ने विदेशीले अतिरिक्त जरिवाना तिर्नुपर्ने छैन ।

तर त्यस्ता विदेशी कुनै फाइन वा जरिवानामा परेका छन् भने सोको भने भुक्तान गर्नुपर्ने हुन्छ ।

यस्तै, आममाफी पाएर स्वदेश फर्कने विदेशी नागरिकले एक्जिट भिसाका लागि आवेदन दिनुपर्ने छ ।

त्यसका लागि सरकारको अब्सर एप वा वेबसाइटमार्फत निवेदन दिन सकिने छ ।

साउदीले आममाफी स्वदेश फिर्तीका लागि मात्र दिइएको र त्यसबाट भिसा परिवर्तन वा म्याद थप गर्न नमिल्ने स्पष्ट पारेको छ ।

आममाफी दिँदा पनि स्वदेश नफर्कने विदेशीका विरुद्ध कडा कारबाही गरिने साउदीको चेतावनी छ ।

त्यस्ता विदेशीले ५० हजार साउदी रियालसम्म जरिवाना, ६ महिनाको जेल र त्यसपछि देश निकालाको सामना गर्नुपर्ने स्पष्ट पारिएको छ ।

साउदी नेपालीहरूको प्रमुख रोजगार गन्तव्य हो ।

यसबाहेक, पर्यटन, व्यापार वा परिवार भिसामा नेपालीहरू साउदी पुग्ने गरेका छन् ।

त्यसैले ती भिसामा साउदी पुगेर ओभरस्टे गर्ने नेपालीहरू समेत नयाँ घोषणाबाट लाभान्वित हुने भएका छन् ।