विदेशी पर्यटक

विदेशी पर्यटक १५ प्रतिशतले बढाउने लक्ष्य

आप्रवासन आप्रवासन

सरकारले चालु आर्थिक वर्षमा विदेशी पर्यटक १५ प्रतिशतले बढाउने लक्ष्य लिएको छ ।

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षका लागि १ अर्ब ५९ करोडको बजेट ल्याउँदै सो लक्ष्य लिएको हो ।

सन् २०२४ मा ११ लाख ४७ हजार विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ मा सरकारले कम्तीमा १३ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो ।

लक्ष्यको तुलनामा कम भए पनि सन् २०२३ को दाँजोमा भने पर्यटक आगमन बढेको थियो ।

सन् २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

यो हिसाबले सन् २०२५ मा बोर्डले साढे १२ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सन् २०२५ को पहिलो ६ महिनामा पौनै ६ लाख पर्यटक नेपाल आइसकेका छन् ।

गएको जनवरीदेखि जुनसम्ममा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् ।

यसले बोर्डको लक्ष्य असम्भव नभए पनि चुनौतीपूर्ण रहेको देखाउँछ ।

तर लक्ष्य भेटाउन बोर्डले विभिन्न योजना बुनेको छ ।

पर्यटक बढाउन बोर्डले कुल बजेटको ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्च गर्ने योजना छ ।

कम्तीमा ५० स्रोत बजारमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने योजना छ ।

यस्तै, पर्यटकबाट हुने आय समेत १५ प्रतिशतले बढाउने लक्ष्य राखिएको छ ।

यस आर्थिक वर्ष पर्यटन व्यवसायमा ५ हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

कम्तीमा पनि २५ नयाँ पर्यटकीय पूर्वाधारको संरक्षण गर्ने बोर्डको योजना छ ।