नेपाल एयरलाइन्सले आउँदो महिनाबाट सातामा ३ वटा काठमाडौँ–दमाम उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीका अनुसार यही अगस्ट ४ तारिखबाट नियमित उडानको सङ्ख्या ३ वटा पुर्याउन लागिएको हो ।
नेपाल एयरलाइन्सले हाल सातामा २ वटा काठमाडौँ–दमाम उडान भर्दै आएको छ ।
एयरलाइन्सले २ न्यारो बडी जहाजमार्फत उडान गर्दै आएको छ ।
न्यारो बडी जहाज १५८ सिट क्षमताका छन् ।
तर यात्रुको बढ्दो चापको मध्यनजर गर्दै एउटा उडान थप गर्न लागिएको हो ।
साउदी अरब नेपालीहरूको प्रमुख रोजगार गन्तव्य मुलुक हो ।
साउदीमा ४ लाख बढी नेपाली कार्यरत छन्।
तर साउदीको दमाम सहरबाट मात्र अहिले नेपाल एयरलाइन्सले नियमित उडान भर्दै आएको छ ।
यसअघि नेपाल एयरलाइन्सले साउदीको राजधानी रियाद सहरबाट पनि उडान भर्ने गर्दथ्यो ।
तर विभिन्न कारणले रियाद–काठमाडौँ उडान बन्द छ ।
तर रियादबाट पनि पुन: उडान सञ्चालनको लागि सम्बन्धित निकायसँग छलफल भइरहेको एयरलाइन्सले जनाएको छ ।