खाडी सेन्जेनको झैँ भिसा प्रणाली

खाडीका ६ देशले सेन्जेनको झैँ भिसा प्रणाली लागु गर्दै

आप्रवासन आप्रवासन

खाडीका ६ वटा देशले युरोपको सेन्जेन राष्ट्रहरूको झैँ एकीकृत भिसा प्रणाली अपनाउने भएका छन् ।

युएई, साउदी अरब, बहराइन, कतार, कुवेत र ओमानले एउटै पर्मिटमार्फत सबै ६ देश नै जान मिल्ने प्रणाली लागू गर्न लागेका हुन् ।

यो भिसालाई ग्रान्ड टुर्स भिसा नाम दिइएको छ ।

यो खाडीका देशहरू बिच यात्रा गर्न सजिलो बनाउने पर्यटक भिसा हो ।

हाल पर्यटकहरूले प्रत्येक देशको लागि छुट्टाछुट्टै भिसाको लागि आवेदन दिनुपर्ने व्यवस्था छ।

तर नयाँ प्रणालीले खाडीका ६ देशबाहिरका नागरिकहरूलाई कुनै एक देश वा सबै देश भ्रमणको विकल्प उपलब्ध गराउने छ ।

सबै देशका लागि आवेदन दिएकाहरूले भिसा पाएपछि ६ वटै देश निर्बाध रूपमा जान पाउने छन् ।

यसले प्रशासनिक बोझ घटाउने र खाडीमा पर्यटन आगमन बढाउने अपेक्षा छ ।

त्यस्तो भिसा पर्यटक, परिवार वा छोटो अवधिको भ्रमणमा उपलब्ध हुने छ ।

रोजगार वा दीर्घकालीन बसाइको भिसामा भने यो सुविधा दिइने छैन ।

यो भिसाको अवधिमा ३० देखि ९० दिनसम्मको हुने अपेक्षा छ ।

भिसाको शुल्क सार्वजनिक गरिएको छैन ।

यो एकीकृत पर्यटक भिसालाई गल्फ कोपरेसन काउन्सिल, जिसीसीले सन् २०२३ मै स्वीकृत गरिएको भए पनि लागू भने भएको छैन।

तर अब भने सन् २०२५ को अन्त्यभित्रै वा सन् २०२६ को सुरुवातबाट यो भिसा प्रणाली लागु गर्ने तयारी छ ।