क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थी

झन्डै आधाले घटे क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थी

आप्रवासन आप्रवासन

क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ४८ प्रतिशतले घटेको छ ।

द पाइ नयुजका अनुसार एक वर्षको अवधिमा क्यानडामा भर्ना हुने अन्तराष्ट्रिय विद्यार्थीको संख्या झन्डै आधाले घटेको हो ।

क्यानडामा सरकारले तोकेको कोटा भन्दा पनि धेरै अन्तर्राष्ट्रिय विद्यार्थी घटेका हुन् ।

सरकारले सन् २०२४ मा कोटा तोक्दै ३ लाख ६० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्र अध्ययन पर्मिट जारी गर्ने बताएको थियो ।

तर सन् २०२४ मा निर्धारित संख्या भन्दा झन्डै एक लाख कम अन्तर्राष्ट्रिय विद्यार्थीलाई मात्र अध्ययन पर्मिट दिइएको हो ।

सन् २०२४ मा केवल २ लाख ६३ हजार ६१० जना अन्तराष्ट्रिय विद्यार्थीले मात्र क्यानडाको भिसा पाएका हुन् ।

योसँगै क्यानडामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ९ लाख ९७ हजार ८२० पुगेको छ ।

यो सन् २०२३ को दाँजोमा ४ प्रतिशतले कम हो ।

सन् २०२३ मा क्यानडामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १० लाख ४० हजार थियो ।

अपेक्षाभन्दा बढीले अन्तर्राष्ट्रिय विद्यार्थी घट्न थालेपछि क्यानेडियन ब्युरो अफ इन्टरनेश्नल एजुकेसनले सरकारलाई चेतावनी दिएको छ ।

ब्युरोले सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको आगमनमा अस्वभाविक कडाइ गरिरहेको भन्दै त्यसले क्यानडाको अर्थतन्त्र र विश्व छविमा असर पुर्याउने बताएको छ ।

ब्युरोले सरकारी नीति बदल्नुपर्ने माग समेत गरेको छ ।