राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नाफा १५ करोड रुपैयाँले घटेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा निगमले १५ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ ।
निगमले आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
गत आर्थिक वर्ष यात्रुको सङ्ख्या घटेका कारण निगमको नाफामा गिरावट आएको हो ।
निगममार्फत आर्थिक वर्ष २०८०/८१ मा ६ लाख १४ हजार ७८७ यात्रुले हवाई यात्रा गरेका थिए ।
तर आर्थिक वर्ष २०८१/८२ मा भने यात्रुको सङ्ख्या ५ लाख ७५ हजार ५६९ मात्र रह्यो ।
एक वर्षमा निगमको सेवा लिने यात्रुको सङ्ख्या ३९ हजार २१८ ले घटेको हो ।
गत वर्ष मर्मत लगायतका नाममा जहाजहरू पालैपालो विदेशमा लामो समय ग्राउण्डेड हुँदा उडान प्रभावित भएको थियो ।
गत वर्षको साउन र भदौमा निगमको दुई वटा वाइड बडी जहाज सि-चेकका लागि विदेश लगिएको थियो र ८० दिनसम्म ग्राउण्डेड भएको थियो ।
यसले दसैँ र तिहार जस्तो मुख्य सिजनमै निगमसँग उडाउनका लागि जहाज उपलब्ध भएन ।
जसको असर निगमको वार्षिक आम्दानीमा परेको हो ।
यद्यपि, यो वर्ष वाइड बडी जहाजको सि-चेक गर्न नपर्ने र चार वटै जहाज पूर्ण क्षमतामा सञ्चालन हुने भएकोले आम्दानी समेत बढ्ने निगमको दाबी छ ।