आगामी भदौ २ गतेदेखि युएईस्थित नेपाली दूतावासले नियमित रूपमा वैधानिकीकरण श्रम स्वीकृति सेवा दिने भएको छ ।
दूतावासले आज एक सूचना जारी गर्दै अबदेखि दूतावासबाट नियमित रूपमा वैधानिकीकरण श्रम स्वीकृति सेवा उपलब्ध हुने जनाएको हो ।
यद्यपि, यो सेवा हाललाई अबुधाबीमा इमिरेट्समा कार्यरत नेपालीलाई मात्र उपलब्ध हुने छ ।
अन्य इमिरेट्समा कार्यरत नेपालीका लागि छुट्टै सूचना पछि जारी गरिने दूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, यो सेवा सन् २०२४ को सेप्टेम्बर ३० सम्म रोजगारीका लागि भिसा प्राप्त गरेकाहरूलाई उपलब्ध हुने छ ।
दूतावासका अनुसार सेवा सोमबारदेखि शुक्रबार अपराह्न २ बजेदेखि ३ बजेसम्म उपलब्ध हुनेछ।
सेवा लिनका लागि आवेदकले अनलाइनमार्फत आवेदन पेस गर्नुपर्नेछ।
आवश्यक कागजातमा कम्तीमा तीन महिना म्याद बाँकी भएको राहदानी, युएई भिसा वा इमिरेट्स आइडी कार्ड, म्यादी जीवन बिमा प्रमाणपत्र, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको प्रमाण, वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण र कम्पनीसँग भएको करार सम्झौता पत्र पर्छन्।
वैधानिकीकरण श्रम स्वीकृतिको प्रक्रिया अन्तर्गत अनलाइन आवेदन पेस गरेपछि भिसाको आधिकारिकता, प्रकृति, जारी मिति र अन्त्य मिति जाँच गरिनेछ।
आवश्यक परेमा थप कागजात मागिनेछ।
आवेदन दिनुअघि सेवाग्राहीको फोटो र आँखाको फोटो वा औँठाछाप अनिवार्य छ ।