युएईको अबुधाबी एयरपोर्ट

युएईको अबुधाबी एयरपोर्टमा लामो लाइनबाट बच्ने सजिलो उपाय

आप्रवासन आप्रवासन

गर्मीको बिदा सकेर युएई फर्किँदै हुनुहुन्छ ? वा पहिलोपटक अबुधाबी हुँदै रोजगारी वा घुमघामका लागि यात्रा गर्दै हुनुहुन्छ ?

हाल युएईका विमानस्थलहरूमा यात्रुको भीड निकै बढेको छ, जसका कारण इमिग्रेशन लाइनमा लामो समय पर्खिनुपर्ने अवस्था छ ।

तर, एउटा साधारण तयारीले तपाईंलाई लामो लाइनबाट बचाएर केही मिनेटमै प्रवेश गराउन सक्छ, त्यो हो UAE Fast Track एपको प्रयोग ।

यो एप युएईको फेडरल अथोरिटी फर आइडेन्टिटी, सिटिजनसिप, कस्टम्स एण्ड पोर्ट सेक्युरिटी ICP को हो, जसबाट तपाईं आफ्नो पासपोर्ट, आगमन विवरण र बायोमेट्रिक डाटा पहिले नै दर्ता गर्न सक्नुहुन्छ ।

एकपटक प्रि-रजिस्ट्रेशन गरेपछि, अबुधाबीको जाएद इन्टरनेशनल एयरपोर्टमा झरेपछि लामो लाइनमा उभिनुपर्ने हुँदैन ।

तपाईं सिधै स्मार्ट गेटमार्फत प्रवेश गर्न सक्नुहुन्छ र इमिग्रेशन प्रक्रिया पाँच मिनेटभन्दा कममा पूरा हुन्छ ।

एप प्रयोग गर्दा तपाईंले फोनकै क्यामेराबाट पासपोर्टको फोटो पृष्ठ स्क्यान गर्नुहुन्छ, अनुहारको स्पष्ट फोटो खिच्नुहुन्छ र दाहिने–बायाँ हातका औँलाछाप लिनुहुन्छ ।

त्यसपछि इमेल, फोन नम्बर, स्थानीय ठेगाना र आफ्नो पेशा प्रविष्ट गरेपछि सबै प्रक्रिया पूरा हुन्छ ।

यात्रा अघि मोबाइलमै यो तयारी गरेपछि, अबुधाबी विमानस्थलमा झरेर केही सेकेन्डमै इमिग्रेशन पार गर्न सकिने भएकाले नेपाली कामदार र भिजिटरका लागि यो उपाय निकै उपयोगी मानिन्छ ।