ओमानमा रहेका नेपालीसहितका आप्रवासीले रेसिडेन्स कार्डको म्याद छान्न पाउने भएका छन् ।
शाही ओमान प्रहरीले आप्रवासीहरूको रेसिडेन्स कार्डका सम्बन्धमा नयाँ सुविधा घोषणा गरेको हो ।
जस अनुसार अब आप्रवासी कामदारहरूले एक, दुई वा तीन वर्षको वैधता भएको रेसिडेन्स कार्डहरूमध्ये आफूलाई उपयुक्त छनौट गर्न सक्छन्।
जसमध्ये एक वर्षको म्याद भएको रेसिडेन्स कार्ड छान्दा ५ ओमान रियाल शुल्क लाग्ने छ ।
यस्तै, २ वर्षको १० र ३ वर्षको म्याद भएको कार्डका लागि १५ ओमान रियाल शुल्क तोकिएको छ।
एक ओमान रियाल भनेको ३६४ नेपाली रुपैयाँ बराबर हो ।
रेसिडेन्स कार्ड हराएको वा बिग्रिएको भए २० रियाल शुल्क लाग्नेछ।
ओमानमा आप्रवासीहरूले आवासीय कार्डको म्याद सकिएको ३० दिन भित्र नवीकरण गर्नुपर्दछ ।
नयाँ सुविधाले आप्रवासीहरूको बसाई र नियमनलाई थप व्यवस्थित बनाउने ओमान प्रहरीको भनाई छ ।
ओमानमा करिब १८ लाख आप्रवासीहरू कार्यरत छन् ।
जसमध्ये धेरैजसो अर्थात् १४ लाख निजी क्षेत्रमा कार्यरत छन् ।
ओमानमा ३ लाख ४९ हजार आप्रवासी घरेलु कामदारका रूपमा कार्यरत छन् ।
ओमानमा २० हजार हाराहारीमा नेपालीहरू कार्यरत रहेको अनुमान छ ।