कुवेतले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने भएको छ ।
जसमा विभिन्न अस्पतालहरूमा उपचाररत करिब ३५ जना नेपाली छन् ।
मदिरा सेवनपछि अस्पतालमा उपचार गरिरहेकाहरूलाई डिस्चार्ज भएपछि पक्राउ गरिनेछ ।
आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाउने तयारी छ ।
कुवेतमा मदिराको उत्पादन, सेवन तथा बेचबिखनमा प्रतिबन्ध छ ।
मदिरा सेवन प्रमाणित भएमा देश निकाला हुने व्यवस्था रहेको छ ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए भने १६ जना नेपालीको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालीहरू लागू औषध ओसारपसार र अवैध मदिरा उत्पादन तथा सेवनजस्ता गैरकानुनी गतिविधिमा संलग्न भएको पाइँदा कुवेतमा नेपाली कामदारको छविमा नकारात्मक असर परेको छ ।
नेपाली दूताावास तथा कुवेतस्थित गैरआवासीय नेपाली संघले समेत मदिरा सेवन, उत्पादन तथा बेचबिखन जस्ता गैरकानूनी कार्य नगर्न सचेत गराएका छन् ।
कुवेतमा हाल १ लाख ६० हजार नेपाली कार्यरत छन् ।