के तपाईँ विदेश घुमिरहने मान्छेमा पर्नुहुन्छ र शरद ऋतुका लागि योजना बुनिरहनु भएको छ?
यदि छ भने थाइल्यान्ड तपाईँका लागि सही छनौट हुन सक्छ ।
थाइल्यान्डका सुन्दर समुद्री तटहरू, भव्य मन्दिरहरू, खानाका परिकारहरू र संस्कृतिका कारण मात्रै हामी यो भनिरहेका छैनौँ ।
बरु, थाइल्यान्डले तपाईँहरू जस्तै पर्यटकलाई लक्षित गरेर एक आकर्षक अफर प्रस्ताव गरेको छ ।
जसले तपाईँलाई थाइल्यान्ड जाऊँ जाऊँ बनाइदिन सक्छ ।
थाइल्यान्डको पर्यटन तथा खेलकुद मन्त्रालयले सेप्टेम्बरदेखि नोभेम्बरसम्ममा आउने २ लाख पर्यटकलाई निःशुल्क आन्तरिक हवाई टिकट दिने प्रस्ताव गरेको छ।
‘Buy International, Free Thailand Domestic Flights’ नाम दिइएको यस कार्यक्रमले पर्यटकलाई १ हजार ७५० भाटसम्मको एकतर्फी र ३ हजार ५०० भाटसम्मको २ तर्फी निःशुल्क हवाई टिकट प्रदान गर्ने छ ।
यो कार्यक्रम थाई एयरवेज, थाई एयर एसिया, बैंकक एयरवेज जस्ता एयरलाइन्समार्फत हुने छ ।
त्यसका लागि पर्यटकसँग हवाई मार्गबाट थाइल्यान्ड प्रवेश गरेको टिकट भए पुग्ने छ ।
यस प्रस्ताव हालै थाइल्यान्डको मन्त्रिपरिषद्मा पेस भएको छ ।
मन्त्रिपरिषद्ले पारित गरेपछि प्रस्ताव कार्यान्वयनमा आउने छ ।
अन्य सिजनको दाँजोमा थाइल्यान्डमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई अफ सिजन मानिन्छ ।
यही अफ सिजनमा पर्यटक आगमन बढाउन मन्त्रालयले यस्तो उपाय अघि सारेको हो ।
थाइल्यान्डको जस्तै पर्यटनको अथाह सम्भावना भएको देश हो नेपाल ।
त्यसैले नेपालले समेत लक्ष्य अनुरूप पर्यटक भित्र्याउन बेलाबेलामा आकर्षक अफरहरू ल्याइरहने थाइल्यान्डबाट सिक्न जरुरी छ ।