मलेसियामा कामदार

मलेसियामा अब विदेशी कामदारलाई पनि सञ्चय कोष

आप्रवासन आप्रवासन

मलेसियामा विदेशी कामदारहरूलाई अनिवार्य रूपमा सञ्चय कोष सुविधा दिने तयारी गरिएको छ । मलेसियाले त्यहाँ कार्यरत २० लाख बढी विदेशी कामदारलाई सञ्चय कोषमा आबद्ध गराउने योजना अघि सारेको हो ।

त्यसका लागि मलेसियाली सरकारले कर्मचारी सञ्चय कोष ऐन, १९९१ संशोधनका लागि मलेसियाको संसद्मा पेस गर्न लागेको छ । संशोधनमा विदेशी कामदारहरूलाई सञ्चय कोषमा आबद्ध गराउने सहमति जुटिसकेको बताइएको छ ।

हाल विदेशी कामदारहरू स्वैच्छिक रूपमा कर्मचारी सञ्चय कोषमा सामेल हुन सक्ने भए पनि बाध्यकारी छैन । ऐन संशोधनले भने यसलाई अनिवार्य गर्ने बताइएको छ ।

त्यसपछि विदेशी कामदार र रोजगारदाताले तलबको २२ प्रतिशत रकम जम्मा गर्नुपर्ने छ । जागिर अवधि सकिएपछि विदेशी कामदारको योगदान फिर्ता हुनेछ ।

मलेसियामा वैध रूपमा करिब ४ लाख नेपाली कार्यरत छन् । पछिल्लो सुविधा संशोधन भई कार्यान्वयनमा आए त्यसको प्रत्यक्ष लाभ त्यहाँ रहेका नेपालीले समेत पाउने छन् ।

यसअघि, मलेसियाले गएको फेब्रुअरी महिनादेखि न्यूनतम तलब समेत बढाएर १७ सय रिंगेट पुर्‍याएको छ ।