नेपालको साहसिक पर्यटनलाई भारतमा अन्तर्राष्ट्रिय मान्यता

आप्रवासन आप्रवासन


भारतको पुणेमा सम्पन्न भारत इन्टरनेशनल ट्राभल मार्टमा नेपाललाई ‘वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्य’ को रूपमा सम्मान गरिएको छ। प्रतिष्ठित यो अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्यालले ग्रहण गरेका हुन्। 
कार्यक्रमअन्तर्गत आयोजित डेस्टिनेसन प्रिजेन्टेशन सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणबारे श्रव्य–दृश्य प्रस्तुति प्रदान गरे। प्रस्तुतिमा बुद्ध सर्किट, रामायण सर्किट, अन्तरदेशीय इको–ट्रेलहरू, युनेस्को विश्व सम्पदा सूचीकृत क्षेत्रहरू, धार्मिक तथा सांस्कृतिक तीर्थयात्रा मार्ग, विश्वस्तरीय पदयात्रा–हिमाल आरोहण अवसरहरू र रोमाञ्चक साहसिक गतिविधिहरूलाई प्रमुख रूपमा समेटिएको थियो।
मार्टमा नेपाल पर्यटन बोर्डले १५ प्रमुख ट्राभल व्यापार कम्पनीहरूसँग सहकार्य गर्दै भारतका यात्रा व्यवसायी तथा पर्यटन प्रमोटरहरूबीच नेपालको विशिष्ट पर्यटन प्याकेज र आकर्षणहरू प्रस्तुत गरेको थियो।