२५ अर्वपतिहरू लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुँदै

आप्रवासन आप्रवासन

 

बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसीर २४, २५ र २६ गते हुने तेस्रो ‘विश्व शान्ति कार्यक्रम’मा २५ अर्वपतिहरू सहभागी हुँदैछन्। कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाका अनुसार, यो पहिलोपटक विश्व शान्ति कार्यक्रममा यति ठूलो संख्यामा अर्वपतिहरू सहभागी हुँदैछन्।

कार्यक्रममा भारतको केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका पूर्व प्रधानमन्त्री तथा युरोपेली संसदका सदस्य लोज्जे पिटर, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमद लगायतका प्रमुख व्यक्तित्वहरू सहभागी हुनेछन्।

खतिवडाका अनुसार, कार्यक्रममा नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यवसायी, कलाकार, युवा तथा सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहने छ। साथै, लुम्बिनीमा चिनियाँ व्यापारी प्रतिनिधिमण्डलको पनि सहभागिता रहनेछ।

तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व तथा स्थानीय शासन लगायतका विषयमा छलफल हुनेछ। युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत समूहका प्रतिनिधिहरूको आवाजलाई शान्तिपूर्ण र समृद्ध भविष्यतर्फ केन्द्रित गरिने कार्यक्रम संयोजक शेखर गौतमले बताए।

कार्यक्रमको क्रममा सांस्कृतिक प्रदर्शनी, संगीत तथा कलात्मक अभिव्यक्तिका सत्रहरू पनि आयोजना गरिनेछन्।