गलत सूचना फैलाएको आरोपमा खाडीमा ६ नेपाली पक्राउ

आप्रवासन आप्रवासन

पश्चिम एसियामा रहेका युद्ध प्रभावित १२ वटा देशमा बस्ने नेपालीहरूलाई हल्लाको पछि नलाग्न र अफवाह नफैलाउन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ। गलत समाचार सेयर गर्ने, हल्ला फैलाउने, भ्रामक श्रव्य–दृश्य सामग्री सामाजिक सञ्जालमा अपलोड गर्ने र डिपफेक बनाउने जस्ता गतिविधि गर्ने नेपालीहरू कानुनी झन्झटमा पर्न सक्ने तथा डिपोर्ट हुन सक्नेछन्।

आइतबार र सोमबार मात्रै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा ६ जना पक्राउ परेका छन्। जसमा २ जना यूएई, ३ जना साउदी अरब र एक जना कुवेतमा काम गरिरहेका नेपालीहरू गलत भिडियो फैलाएकै आरोपमा पक्राउ परेका हुन्। नेपालीहरू विदेशमा पक्राउ पर्न थालेपछि परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना निकालेर अपिल गरेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार यहाँ मिसाइल आक्रमण भयो भन्दै डिपफेक फैलाउने, आक्रमणमा परी विभिन्न देशका होटल तथा सरकारी संरचना ध्वस्त भएको भ्रामक भिडियो बनाएर सेयर गर्ने तथा यति नेपालीहरू परे वा मरे भनेर आतंक फैलाउने काममा नेपालीहरूको संलग्नता बढ्न थालेको छ। ती देशमा भएका नेपाली नियोग र नेपाली राजदूतावासमा आएको जानकारी अनुसार परराष्ट्र मन्त्रालयले सबै नेपालीलाई कानुन पालना गरिदिन आग्रह गरेको हो।

यूएई, कतार, साउदी, कुवेतलगायतका देशमा काम गर्ने नेपालीलगायत अन्य देशका व्यक्तिहरूले अफवाह फैलाउन थालेपछि त्यहाँका सुरक्षाकर्मी तथा सरकारले विभिन्न अलर्ट तथा निर्देशनहरू जारी गरिरहेका छन्। आधिकारिक सूचना मात्रै सेयर गर्न भन्दै सार्वजनिक सूचना नै जारी भइरहेका छन्। यसका अलावा आफूले काम गर्न गएको देशको कानुन उल्लंघन गर्दै अफवाह फैलाउँदा समग्र नेपालीमाथि नै समस्या पर्ने भन्दै परराष्ट्र मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जहाँ बसेको भए पनि नेपालीहरूलाई उक्त देशको कानुन पालना गर्न आग्रह गरे। उनले भने, ‘केही व्यक्तिको गल्तीका कारण सबै नेपाली र देशलाई नै असर पर्न सक्छ, त्यसैले बेलैमा सचेत हुन सबैमा आग्रह छ।’ युद्ध प्रभावित देशहरूमा अहिले २० लाखभन्दा बढी नेपाली कार्यरत भएको परराष्ट्र मन्त्रालयको तथ्यांक छ। यीमध्ये करिब पाँच हजार जनाले आफू असुरक्षित भएको भन्दै सम्बन्धित दूतावासहरूमा विवरण टिपाएका थिए। समस्यामा परेका र ट्रान्जिटमा फसेका नेपालीलाई तत्काल उद्धार गरिने सरकारको तयारी पनि छ।

ट्रान्जिटमा अहिलेसम्म कुवेतमा मात्रै २९ जना नेपाली छन्। उनीहरूलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेको छ। उनीहरूको भिसा मिलाएर अर्को देशको विमानस्थल हुँदै गन्तव्य पु¥याउने कोसिस भइरहेको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको अपिलमा भनिएको छ, ‘नेपाली नागरिकहरूको सुरक्षा र हित सरकारको प्रमुख प्राथमिकता हो। पश्चिम एसिया क्षेत्रमा विकसित हालको सन्दर्भमा परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशहरूमा रहेका नेपाली नियोगहरूले निरन्तर रूपमा सूचना, प्रेस विज्ञप्ति र ब्रिफिङमार्फत आवश्यक जानकारी तथा अनुरोधहरू जारी गरिरहेका छन्।’

उक्त क्षेत्रका मित्रराष्ट्रहरूले सार्वजनिक सुरक्षा कायम राख्न र अनावश्यक त्रास फैलिन नदिन आग्रह गरेका छन्। सरकारी निकायबाट जारी भएका आधिकारिक सूचना तथा समाचारहरू मात्र विश्वास गर्न र अफवाह वा हल्लाको पछि नलाग्न मन्त्रालयको आग्रह छ। त्रास वा डर फैलाउने उद्देश्यका फोटो, भिडियो वा अन्य कन्टेन्ट नबनाउन तथा त्यस्ता सामग्री सेयर नगर्न भनिएको छ।