फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर नेतृत्वको सरकारले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेको छ । पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा “तत्काल खतरा” देखिएको भन्दै आपतकाल घोषणा गरिएको हो ।
राष्ट्रपति मार्कोसले मंगलबार जारी गरेको कार्यकारी आदेशमा विश्व ऊर्जा बजारमा अनिश्चितता, आपूर्ति शृङ्खलामा अवरोध र अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र उतार–चढाव तथा वृद्धि भएको उल्लेख गर्दै यसले देशको ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने बताएका छन् ।
सरकारले आपतकालीन अवस्थालाई सामना गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ, जसले इन्धन, खाद्यान्न, औषधि, कृषि उत्पादन तथा अन्य अत्यावश्यक वस्तुको सहज आपूर्ति, वितरण र उपलब्धता सुनिश्चित गर्नेछ । ऊर्जा आपतकाल घोषणा एक वर्षसम्म लागू रहनेछ । यस अन्तर्गत आपूर्ति निरन्तर र पर्याप्त रहोस् भनेर सरकारले आवश्यक परे अग्रिम भुक्तानी गर्दै इन्धन तथा पेट्रोलियम पदार्थ खरिद गर्न सक्नेछ ।
ऊर्जामन्त्री शेरोन गारिनका अनुसार हालको खपतका आधारमा फिलिपिन्ससँग करिब ४५ दिन पुग्ने इन्धन मौज्दात रहेको छ । सरकारले दक्षिण–पूर्वी एसिया भित्र र बाहिरका देशहरूबाट १० लाख ब्यारेल तेल खरिद गरी भण्डारण बढाउने तयारी गरिरहेको पनि उनले जानकारी दिइन् । तर आगामी खरिद प्रक्रियामा अनिश्चितता रहने सम्भावना रहेको उनले चेतावनी दिइन् ।
सरकारले आपतकाल घोषणामार्फत आवश्यक परे नियमित प्रक्रिया छिटो पार्दै निर्णय लिन सक्नेछ, जसले विश्व बजारमा देखिएको उतार–चढावको प्रभावलाई कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यसैबिच राष्ट्रपति मार्कोसले अर्थ मन्त्रालयलाई केन्द्रीय बैंकसँग समन्वय गरी पश्चिम एसियामा द्वन्द्वको प्रभाव फिलिपिन्सको मुद्रा (पेसो), वैदेशिक आम्दानी (रेमिट्यान्स) र सम्भावित मुद्रा अवमूल्यनमाथि नजिकबाट निगरानी गर्न निर्देशन दिएका छन् ।