कुवेतमा अलपत्र नेपालीका लागि विशेष उडान, ३१६ जना आज स्वदेश फर्किँदै

आप्रवासन आप्रवासन

इरानमा इजरायल र अमेरिकाको आक्रमणपछि सिर्जित तनावका कारण कुवेतमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन कुवेत एयरवेजले विशेष उडान गर्ने भएको छ।

एयरवेजले आज ४:४५ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतमा अलपत्र परेका नेपाली यात्रुहरूलाई स्वदेश फिर्ता ल्याउन विशेष चार्टर उडान सञ्चालन गर्ने तयारी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार उडानको लागि अनुमति दिएको छ। पहिलो पटक भैरहवामा ३३४ सिट क्षमताको बोइङ ७७७–३०० विमान अवतरण गर्दै छ। उक्त विमानमा आज कुवेतबाट ३१६ नेपाली लिएर ४:४५ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ।

युद्धका कारण नेपाल-कुवेत नियमित उडान रोकिएको आज ३२औँ दिन पुगेको छ। नियमित उडान ठप्प भएपछि नेपाली दूतावासको समन्वयमा यो उद्धार उडान हुन लागेको हो।

नियमित उडान सुचारु नहुन्जेल साउदी अरबको दमामलाई ट्रान्जिट बनाएर काठमाडौँ उडान गर्ने तयारी भइरहेको छ।

इरान र इजरायलबिचको तनावले हवाई क्षेत्र असुरक्षित भएपछि कुवेत एयरवेज र जजिरा एयरवेज दुवैले आफ्ना नियमित उडानहरू स्थगित गरेका छन्। यस चार्टर उडानले कुवेतमा अड्किएका सयौँ नेपाली कामदार र यात्रीहरूलाई राहत दिने विश्वास गरिएको छ।

भैरहवा अवतरण गरेपछि यो विमान यात्रुबिनै (खाली) कुवेत फर्कनेछ।