चीन जान पाइने अवसरसहित युवा पायोनियर कार्यक्रम सुरु

आप्रवासन आप्रवासन

नेपालस्थित चिनियाँ दूतावासले नेपाली युवाहरूलाई नेतृत्व, सामाजिक सेवा र व्यावसायिक विकासका क्षेत्रमा सशक्त बनाउने उद्देश्यले ‘चिनियाँ दूतावास युवा पायोनियर कार्यक्रम’को सुरुवात गरेको छ ।

युवा पुस्तालाई विभिन्न सीपमार्फत दक्ष बनाउँदै नेपालको सामाजिक विकासमा सकारात्मक परिवर्तन ल्याउन सक्ने एक प्रभावशाली युवा सञ्जाल निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम ल्याइएको चिनियाँ दुतावासले जनाएको छ । विशेष गरी २२ देखि ३४ वर्ष उमेर समूहका युवा पेशाकर्मी, सामाजिक कार्यकर्ता, उद्यमी, संस्कृतिविद् तथा विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई लक्षित गरिएको यस कार्यक्रमको अवधि एक वर्षको रहने बताइएको छ। 

यस अवधिभर सहभागीहरूले नेतृत्व विकासका विभिन्न तालिम, कार्यशाला र सामुदायिक कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी हुने अवसर पाउने दुतावासले जनाएको छ। 

दूतावासका अनुसार सहभागी युवाहरूले आ–आफ्नो रुचि र दक्षताका आधारमा एउटा सामाजिक विषय चयन गरी त्यसमा कार्ययोजना तयार पार्नेछन् र त्यसलाई व्यवहारमा उतार्न सक्रिय भूमिका निर्वाह गर्नेछन् ।

यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई प्रदान गरिने चीन भ्रमणको अवसर हो । छनोट भएका युवाहरूले चीनमा भइरहेका विकासका अभ्यासहरूको प्रत्यक्ष अध्ययन र अनुभव गर्ने मौका पाउनेछन् । कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरूले आगामी मे १७, २०२६ भित्र आवेदन दिन आह्वान गरेको छ ।  

प्राप्त आवेदनहरूको गम्भीर मूल्यांकन गरी कार्यक्रमको मापदण्ड पूरा गर्ने १० देखि २० जना योग्य युवाहरूलाई मात्र अन्तिम छनोटमा पारिनेछ । 

यसले युवाहरूलाई आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ । चिनियाँ दूतावासले यो पहलकदमीमार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै युवाहरूमार्फत आपसी समझदारी र सहयोगको नयाँ अध्याय सुरु हुने अपेक्षा राखेको बताइएको छ।