स्पेनमा रहेका हजारौँ नेपाली आप्रवासीका लागि महत्वपूर्ण तर चुनौतीपूर्ण समाचार बाहिरिएको छ। स्पेन सरकारले करिब ५ लाख गैरकानुनी आप्रवासीलाई वैधानिकता दिने ‘एक्स्ट्राअर्डिनरी रेगुलेसन २०२६’ प्रक्रिया अघि बढाइरहँदा नेपालीहरूका लागि कागजी प्रक्रिया भने झन्झटिलो बनेको छ।
काठमाडौँको बत्तीसपुतलीस्थित स्पेनी महावाणिज्य दूतावासले गर्दै आएको कागजात प्रमाणीकरण (लिगलाइजेसन) सेवा अचानक बन्द भएपछि अब नेपालीहरूले नयाँ दिल्लीस्थित स्पेनी दूतावास धाउनुपर्ने अवस्था आएको हो। यस निर्णयले सेवाग्राहीहरूलाई समय र खर्च दुवैमा थप भार पर्ने देखिएको छ।
स्पेनको नयाँ नियमअनुसार स्थायी बसोबासका लागि आवेदन दिन कम्तीमा ११ वटा प्रमाणित कागजात आवश्यक पर्दछ। यसमा विशेषगरी नेपाल प्रहरीले जारी गर्ने ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ र वैवाहिक अवस्थासम्बन्धी कागजातहरू अनिवार्य छन्। ती कागजातहरू सम्बन्धित देशमा रहेको स्पेनी नियोगबाट प्रमाणीकरण भएपछि मात्र आवेदन प्रक्रिया पूरा हुन्छ।
यसअघि काठमाडौँबाटै कागजात प्रमाणीकरण हुने र नयाँ दिल्लीस्थित कन्सुलर कार्यालयका अधिकारीले भिडियो कलमार्फत अन्तर्वार्ता लिने व्यवस्था रहेको थियो। तर, पछिल्लो निर्णयपछि अब कागजात प्रमाणीकरण मात्र होइन, अन्तर्वार्ताका लागि समेत भौतिक रूपमा दिल्ली पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ।
महावाणिज्य दूतावासले जारी गरेको सूचनाअनुसार नेपाली सरकारी निकायबाट जारी भएका कागजातहरू ‘लिगलाइज’ गर्न अब दिल्लीस्थित कन्सुलर शाखामा सम्पर्क गर्नुपर्नेछ।
स्पेन सरकारको यो योजना विशेषगरी सन् २०२५ डिसेम्बर ३१ भन्दा कम्तीमा पाँच महिना अघिदेखि स्पेनमा बसोबास गरिरहेका आप्रवासीहरूका लागि लक्षित छ। आगामी जुन ३० सम्म आवेदन दिने समयसीमा तोकिएको छ।
वैधानिकता प्राप्त गर्ने ठूलो अवसर भए पनि सेवा दिल्ली सारिएपछि नेपाली आवेदकहरू थप झन्झट, खर्च र समय अभावको समस्यामा परेका छन्।
