रोमानियाको वैदेशिक रोजगारी प्लेटफर्म पूर्ण सञ्चालनमा

आप्रवासन आप्रवासन

काठमाडौँ । युरोपेली मुलुक रोमानियाले विदेशी कामदार भर्ना तथा रोजगारीसम्बन्धी प्रक्रिया सहज, पारदर्शी र व्यवस्थित बनाउन सुरु गरेको सरकारी डिजिटल प्लेटफर्म ‘वर्क इन रोमानिया’ पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ ।

रोमानिया सरकारले आधिकारिक वेबसाइट WorkInRomania.gov.ro मार्फत उक्त प्लेटफर्म पूर्ण रूपमा सञ्चालनमा रहेको जानकारी दिएको हो । यस प्लेटफर्ममार्फत रोमानियामा रोजगारी खोज्ने विदेशी नागरिक, रोजगारदाता कम्पनी तथा कामदार पठाउने अनुमति प्राप्त संस्थाहरूलाई विभिन्न सेवा उपलब्ध गराइनेछ ।

रोमानियाको श्रम बजारमा विदेशी कामदारको प्रवेशलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्ने उद्देश्यले तयार गरिएको यो प्रणालीले रोजगारदाता र विदेशी कामदारबीचको प्रक्रियालाई एउटै अनलाइन प्रणालीमा समेटेको छ । यसबाट रोजगारीको प्रस्ताव, रोजगारदाता दर्ता, कामदार भर्नासम्बन्धी आवेदन तथा भिसा प्रक्रियालाई व्यवस्थित गर्ने सरकारी योजना रहेको छ ।

सरकारी वेबसाइटका अनुसार प्लेटफर्ममार्फत रोमानियाका रोजगारदाताले आफ्नो खाता खोल्न, रोजगारीका आधिकारिक प्रस्ताव अपलोड गर्न, विदेशी कामदार भर्नाका लागि आवेदन दिन तथा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सक्नेछन् । त्यस्तै, कामदार पठाउने अनुमति प्राप्त एजेन्सीहरूले आफ्नो अनुमति लिन वा नवीकरण गर्न, कामदार पठाउने सम्झौता गर्न र आफ्नो गतिविधिको विवरण सरकारी निकायमा पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।

विदेशी कामदारका लागि पनि यो प्लेटफर्म उपयोगी हुने रोमानिया सरकारले जनाएको छ । यसमार्फत रोमानियामा काम गर्न आवश्यक कानुनी प्रक्रिया, रोजगारीका सर्त, बसोबाससम्बन्धी व्यवस्था तथा कामदारका अधिकारबारे आधिकारिक जानकारी प्राप्त गर्न सकिनेछ । साथै, रोमानियामा कामदार पठाउन अनुमति प्राप्त गरेका एजेन्सीहरूको विवरण जाँच गर्न र काम गर्ने क्रममा दुर्व्यवहार वा शोषणमा परेमा त्यसबारे उजुरी गर्न सकिने व्यवस्था पनि राखिएको छ ।

रोमानिया सरकारले यस प्रणालीमा रोजगारदाता दर्ता, रोजगारदाताको अनुमति प्राप्त गर्ने प्रक्रिया र लामो अवधिको बसोबासका लागि आवश्यक डी/एएम२ प्रकारको भिसासम्बन्धी एकीकृत आवेदन प्रक्रियासमेत पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ । यसअघि अलग-अलग निकायमार्फत गर्नुपर्ने प्रक्रियालाई एउटै डिजिटल प्रणालीमा समेट्ने उद्देश्य यसले राखेको छ ।

प्लेटफर्ममार्फत विदेशी कामदारको रोजगारी, तलब, आवास र श्रमिक अधिकारसम्बन्धी जानकारीलाई पारदर्शी बनाउने तथा रोजगारदाता र कामदार पठाउने एजेन्सीहरूको गतिविधिलाई सरकारी निकायले अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट गैरकानुनी रूपमा कामदार भर्ना गर्ने तथा श्रमिक शोषण गर्ने गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने रोमानिया सरकारको अपेक्षा छ ।

नेपालबाट पनि पछिल्लो समय रोमानियामा रोजगारीका लागि जाने श्रमिकको आकर्षण बढिरहेको छ । यस्तो अवस्थामा रोमानियाको नयाँ डिजिटल प्रणाली नेपाली कामदारका लागि पनि उपयोगी हुन सक्छ । विशेषगरी रोमानियामा रोजगारी खोजिरहेका नेपालीले रोजगारदाता र कामदार पठाउने एजेन्सीको वैधानिकता बुझ्न तथा त्यहाँको रोजगारी र श्रमिक अधिकारसम्बन्धी आधिकारिक जानकारी प्राप्त गर्न यो प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

यद्यपि, यो प्लेटफर्म सञ्चालनमा आउनुको अर्थ विदेशी नागरिकले स्वतः रोजगारी वा भिसा पाउने भन्ने होइन । रोमानियामा काम गर्न सम्बन्धित कानुनी प्रक्रिया, रोजगारदाताको अनुमति, रोजगारीको प्रस्ताव र भिसासम्बन्धी आवश्यक सर्त पूरा गर्नुपर्ने हुन्छ ।

रोमानिया सरकारले प्लेटफर्ममा उपलब्ध जानकारीलाई मुख्य प्रक्रिया र कानुनी दायित्व बुझ्न सहयोग गर्ने सूचनाका रूपमा व्याख्या गरेको छ । वेबसाइटमा उपलब्ध जानकारीले प्रचलित कानुन, सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक कागजात तथा व्यक्तिगत प्रशासनिक प्रक्रियालाई प्रतिस्थापन नगर्ने पनि स्पष्ट पारिएको छ ।

रोमानियामा रोजगारी खोजिरहेका नेपालीले सरकारको आधिकारिक वेबसाइट WorkInRomania.gov.ro मार्फत थप जानकारी लिन सक्नेछन् ।