काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका १० देशका राजदूतमध्ये तीन देशका राजदूतको एग्रिमो प्राप्त भएको छ ।
परराष्ट्र मन्त्रालयका स्रोत अनुसार भारत र चीन र इजरायलका राजदूतका लागि सम्बन्धित देशबाट एग्रिमो आएको हो ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र इजरायलका लागि सुरेश कर्णलाई सिफारिस गरेको थियो । एग्रिमो आएसँगै अब राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्नेछन् ।
सरकारले विज्ञापनको माध्यमबाट छनोट गरी १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो ।
तीन जनाबाहेक अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, श्रीलंकाका लागि डा. मञ्चला झा, जर्मनका लागि सरु जोशी र ओमानका लागि डा. पद्याक्षी राणाको नाम अनुमोदन भएको थियो ।
परराष्ट्र मन्त्रालयले बाँकी रहेको ९ देशका लागि राजदूतहरू सिफारिस गर्ने गृहकार्य पनि सुरु गरेको छ । रुस, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन, इजिप्टमा नेपाली राजदूत खाली छन् । यी ९ वटै दूतावासमा कर्मचारी वर्गबाट राजदूत पठाइएको थियो ।
त्यसमध्ये रसिया, अष्ट्रेलिया, ओमान, स्पेनमा राजदूत पद रिक्त भइसकेको छ । बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन, इजिप्टमा रहेका नेपाली राजदूतको म्याद सकिए पनि वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले उनीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि म्याद थप गरेर राखेको छ ।
म्याद थपिएका राजदूतहरूमा बंगलादेशका लागि घनश्याम भण्डारी, ब्राजिलका लागि निर्मलराज काफ्ले, म्यानमारका लागि हरिश्चन्द्र घिमिरे, बहाराइनका लागि तीर्थराज वाग्ले र इजिप्टका लागि सुशील लम्साल छन् ।