अमेरिकामा ‘बर्थ टुरिज्म’विरुद्ध कारबाही तीव्र, ६ हजारभन्दा बढी विदेशीको भिसा रद्द

आप्रवासन आप्रवासन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘बर्थ टुरिज्म’ अर्थात् अमेरिकामा बच्चा जन्माउनकै लागि विदेशी नागरिकले गर्ने यात्राविरुद्धको कारबाही तीव्र बनाएको छ । अमेरिकी विदेश मन्त्रालयले यस्तो गतिविधिमा संलग्न भएको वा त्यसलाई सहयोग गरेको आरोपमा ६ हजारभन्दा बढी विदेशी नागरिकको भिसा रद्द गरेको जनाएको छ ।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, मन्त्रालयअन्तर्गतको ‘बर्थ टुरिज्म प्रिभेन्सन टास्क फोर्स’ले अहिलेसम्म ६ हजारभन्दा बढी भिसा रद्द गरेको हो । यसअघि अक्टोबर ३१ मा मन्त्रालयले ४ हजारभन्दा बढी भिसा रद्द गरिएको जानकारी दिएको थियो ।

मन्त्रालयले गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई जवाफदेही बनाउने बताएको छ । यद्यपि, पछिल्लो विवरणमा कुन देशका कति नागरिकको भिसा रद्द गरिएको हो भन्ने खुलाइएको छैन ।

अक्टोबरमा सार्वजनिक गरिएको विवरणअनुसार रद्द गरिएका भिसामध्ये ७ सयभन्दा बढी चिनियाँ नागरिकका थिए । नयाँ विवरणमा भने देशअनुसारको तथ्यांक उल्लेख गरिएको छैन ।

भिसा रद्द हुनु देशनिकाला वा अपराधी ठहरिनु होइन

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक भिसा रद्दसँग सम्बन्धित छ । भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्ति अमेरिकाबाट देशनिकाला भएको वा कुनै अपराधमा दोषी ठहरिएको भन्ने अर्थ नलाग्ने स्पष्ट पारिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको नियमअनुसार, अमेरिकामा बच्चा जन्माएर उसलाई अमेरिकी नागरिकता दिलाउने मुख्य उद्देश्यले गरिने यात्रा बी–१/बी–२ गैरआप्रवासी भिसा जारी गर्ने वैध आधार मानिँदैन ।

नियमअनुसार, कन्सुलर अधिकारीलाई कुनै महिला अमेरिका भ्रमणका क्रममा बच्चा जन्माउने उद्देश्यले यात्रा गर्न लागेको विश्वास गर्ने आधार भएमा उनको भिसा आवेदनमाथि थप जाँच हुन सक्छ । यस्तो अवस्थामा आवेदकले आफ्नो यात्रा बर्थ टुरिज्मका लागि नभएको प्रमाणित गर्नुपर्ने हुन्छ ।

अमेरिकामा जन्मिएका बालबालिकाको नागरिकतासम्बन्धी कानुनी व्यवस्थामा भने यस कारबाहीले कुनै परिवर्तन गरेको छैन ।

अगस्टदेखि विशेष टास्क फोर्स सक्रिय

अमेरिकी विदेश मन्त्रालयले गत अगस्ट १२ मा ‘बर्थ टुरिज्म प्रिभेन्सन टास्क फोर्स’ गठन गरेको थियो । त्यतिबेला नै विश्वभर ६ सयभन्दा बढी भिसा रद्द गरिसकेको मन्त्रालयले जनाएको थियो ।

त्यसपछि सेप्टेम्बर २३ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जानाजानी बर्थ टुरिज्ममा संलग्न हुने वा त्यसलाई प्रोत्साहन गर्ने व्यक्तिहरूविरुद्ध भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । यस्तो गतिविधिमा संलग्न व्यक्तिका परिवारका केही सदस्यसमेत प्रतिबन्धको दायरामा पर्न सक्ने विभागले जनाएको छ ।

यसका अतिरिक्त, विदेश मन्त्रालयले भिसा ठगीसम्बन्धी सूचना दिन सकिने अनलाइन पोर्टलसमेत सञ्चालनमा ल्याएको छ ।