वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने आर्थिक कारोबारलाई पारदर्शी र सुरक्षित बनाउन सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र गर्न आग्रह गरेको छ। विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकलाई इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई बुझाउने सम्पूर्ण रकम नगद नभई बैंकमार्फत भुक्तानी गर्न निर्देशन दिएको हो।
सूचनामा सेवा शुल्क बुझाएको प्रमाण, कागजात तथा अनलाइन कारोबारको विवरण सुरक्षित राख्न पनि अनुरोध गरिएको छ। यसले भविष्यमा कुनै समस्या परे प्रमाणका रूपमा काम गर्ने विभागको भनाइ छ।
विभागले नगद कारोबार गर्दा प्रमाण नहुने भएकाले ठगी वा विवादको जोखिम बढ्ने उल्लेख गर्दै कुनै पनि म्यानपावर कम्पनी, तिनका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई व्यक्तिगत रूपमा नगद रकम नदिन स्पष्ट आग्रह गरेको छ।
साथै, सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाहरूलाई समेत नगद कारोबार नगर्न/नगराउन चेतावनी दिँदै अन्यथा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने जानकारी गराइएको छ।
सरकारले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न र श्रमिकको हित संरक्षण गर्न यस्तो कदम चालिएको जनाएको छ।
