नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राख्दै नयाँ पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने घोषणा गरेको छ।
सोमवारको सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमसहित कर्णाली, मधेश र कोशी प्रदेशलाई प्राथमिकतामा राखेर पर्यटन विकास गरिने बताए।
सरकारले यी क्षेत्रमा रहेका सम्भावित पर्यटकीय स्थलहरूलाई नयाँ गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने लक्ष्य लिएको छ।
यसैगरी, सरकारले मुलुकका हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग ट्रेकिङ रुटहरू पहिचान गरी तिनको प्रवर्द्धन गर्ने योजना समेत अघि सारेको छ। यस कार्यक्रमबाट सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूको पहिचान हुने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना भई आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेले जानकारी दिए।