अमेरिका र इरानबिच अप्रिलमा भएको युद्धविराम कमजोर बन्दै गइरहेका बेला दुवै देशले एकअर्कामा पछिल्ला केही साताकै सबैभन्दा ठुलो सैन्य आक्रमण गरेका छन् । इरानले कुवेत र बहराइनतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेपछि अमेरिकाले इरानको क्युस्म टापुस्थित सैन्य संरचनामाथि नयाँ आक्रमण गरेको जनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सिईएनटिसिओएम) का अनुसार इरानले मंगलबार राति कुवेत र बहराइनतर्फ प्रहार गरेका मिसाइलहरूले लक्ष्यमा प्रहार गर्न सकेनन् । कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल बाटोमै खसेका वा टुक्रिएका थिए भने बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइल अमेरिकी र बहराइनी वायु प्रतिरक्षा प्रणालीले अवरोध गरेको दाबी गरिएको छ ।
इरानले भने आफूले क्षेत्रस्थित अमेरिकी सैन्य अड्डा, हेलिकप्टर बेस तथा बहराइनमा रहेको अमेरिकी पाँचौं नौसैनिक फौजको मुख्यालयलाई निशाना बनाएको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजिसि )ले अमेरिकी आक्रमणको प्रतिकारस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको हो ।
यसअघि अमेरिकी सेनाले इरानको क्युस्म टापुस्थित एक सैन्य ग्राउन्ड कन्ट्रोल स्टेशनमाथि ‘प्रतिरक्षाका लागि’ आक्रमण गरेको जनाएको थियो । सेन्टकमका अनुसार इरानले क्षेत्रीय मुलुकहरूतर्फ धेरै ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि जवाफी कारबाही गरिएको हो ।
तनाव त्यसअघि पनि बढेको थियो जब अमेरिकी सेनाले खार्ग टापुतर्फ जाँदै गरेको बोत्स्वाना झण्डावाहक तेल ट्यांकरमाथि ‘हेलफायर’ मिसाइल प्रहार गरी त्यसलाई निष्क्रिय बनाएको बताएको थियो । अमेरिकाले उक्त जहाजले इरानी बन्दरगाहहरूमाथि लगाइएको नाकाबन्दी उल्लंघन गरेको आरोप लगाएको छ ।
यसको जवाफमा इरानले लाइबेरियाको झण्डा बोकेको ‘पनाया’ नामक जहाजमाथि मिसाइल प्रहार गरेको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त कारबाही अमेरिकी आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो ।
बुधबार बिहान पनि इरानले कुवेतमा रहेका अमेरिकी सैनिकलाई लक्षित गर्दै ड्रोनहरूको अर्को लहर पठाएको अमेरिकी सेनाले जनाएको छ । सेन्टकमका अनुसार ती ड्रोनहरू पनि लक्ष्यमा पुग्न असफल भएका छन् र कुनै अमेरिकी सैनिक वा सैन्य सम्पत्तिमा क्षति पुगेको छैन ।
युद्धविराम कायम राख्ने र होर्मुज जलडमरू पुनः पूर्ण रूपमा खुलाउने विषयमा अमेरिका र इरानबिच वार्ता जारी रहेको संकेत इरानी सञ्चारमाध्यमहरूले दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आगामी एक साताभित्र सहमति हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।
तर वार्ताको भविष्य भने अनिश्चित देखिएको छ । इरानले केही दिनअघि वार्ता स्थगित गरेको बताइएको थियो भने इजरायलले लेबनानमाथि गरिरहेको आक्रमण जारी रहे थप सैन्य कारबाहीको प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।
यसैबिच इजरायल र लेबनानबिचको उच्चस्तरीय वार्ता मंगलबारका लागि सकिएको छ र बुधबार अमेरिकी विदेश मन्त्रालयमा पुनः जारी रहने बताइएको छ । वार्ताको पृष्ठभूमिमा इरान समर्थित हेजबुल्लाह र इजरायली सेनाबिच रातभरि आक्रमण–प्रत्याक्रमण भएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा सैन्य अभियान योजना अनुसार जारी रहने बताएका छन् । यो अभिव्यक्ति राष्ट्रपति ट्रम्पले इजरायली सेना बेरुततर्फ नबढ्ने दाबी गरेको केही घण्टापछि आएको हो । अमेरिकी र इजरायली अधिकारीहरूबिच यस विषयमा मतभेद बढ्दै गएको र ट्रम्प तथा नेतान्याहुबिचको पछिल्लो टेलिफोन संवाद तनावपूर्ण बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अप्रिलमा युद्धविराम घोषणा भएयता अमेरिका र इरानबिच पटक–पटक सैन्य झडप भइरहेका छन् । इरानले अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकहरूलाई निशाना बनाउँदै आएको छ भने अमेरिकाले होर्मुज जलडमरू आसपासका इरानी सैन्य संरचना तथा इरानसँग सम्बन्धित जहाजहरूमा आक्रमण गर्दै आएको छ । पछिल्लो घटनाक्रमले क्षेत्रीय तनाव फेरि व्यापक द्वन्द्वतर्फ उन्मुख हुन सक्ने चिन्ता बढाएको छ ।