विदेशबाट फर्किने नेपालीले अतिरिक्त मोबाइल र ६५ इन्चसम्मको टिभी भन्सार छुटमा ल्याउन पाउने

संगम पहरी संगम पहरी

विदेशबाट नेपाल फर्किने यात्रुका लागि सरकारले भन्सारसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेश गएर फर्कँदा एक थान अतिरिक्त नयाँ सेलुलर मोबाइल फोन ल्याएमा त्यसमा भन्सार महसुल नलाग्ने भएको छ।

अर्थ मन्त्रालयले यात्रुले विदेशबाट ल्याउन र लैजान पाउने वस्तुहरू सम्बन्धी नयाँ सूचना राजपत्रमा प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो। विशेषगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ मोबाइल फोन ल्याउँदा त्यसको महसुल पूर्ण रूपमा छुट हुने उल्लेख गरिएको छ।

नयाँ व्यवस्थाअनुसार विदेशबाट फर्किने यात्रुले व्यक्तिगत प्रयोगका लागि प्रयोग गरेका लुगाफाटा, बरबिछ्यौना, घरायसी पुराना वस्तु, औषधोपचार गराई फर्किएका बिरामीले ल्याएका औषधि तथा शारीरिक रूपमा अशक्त यात्रुले सहाराका रूपमा प्रयोग गर्ने वस्तुमा पनि भन्सार महसुल लाग्ने छैन।

त्यसैगरी, आफूले प्रयोग गरेको ट्याबलेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र मोबाइल फोन एक–एक थानसम्म ल्याउँदा पनि महसुल लाग्दैन। नेपाल फर्किने नागरिकले ६५ इञ्चसम्मको टेलिभिजन एक थान सम्म ल्याउन पाउनेछन्, तर यो सुविधा एक पटकका लागि मात्रै लागू हुने व्यवस्था छ।

यस्तै, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, साथै आफ्नै पेशासँग सम्बन्धित वस्तुहरू पनि एक–एक थानसम्म महसुलबिना ल्याउन सकिनेछ। जस्तै, डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीका लागि फुटबल, भलिबल, ब्याडमिन्टन वा क्रिकेट सेट, तथा गायक वा संगीतकारका लागि गितार, हार्मोनियम, तबला जस्ता सामग्रीमा पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सात किलोग्रामसम्म खाद्य परिकार ल्याउँदा पनि भन्सार महसुल लाग्ने छैन। मदिराका हकमा भने एक लिटरको एक बोतल सम्म ल्याउन पाइने व्यवस्था गरिएको छ।

विशेष प्रावधानअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफू आउनु अघि वा पछि हुलाक पुलिन्दा, कार्गो वा अन्य माध्यमबाट सामान पठाउन सक्नेछन्। यस्तो अवस्थामा पनि तोकिएको मापदण्डभित्र परेका वस्तुमा पूर्ण महसुल छुट हुनेछ।

यसका साथै भन्सार महसुल ऐन, २०८१ अनुसूची– ४ को प्रकरण (१) मा तोकिएको परिमाणसम्म सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउन महसुल लाग्ने छैन ।

सरकारको यो नयाँ व्यवस्था विदेशबाट फर्किने नेपालीका लागि राहतदायी भएको छ। विशेषगरी लामो समय विदेशमा बसेर फर्किने श्रमिक तथा यात्रुहरूले अब व्यक्तिगत प्रयोगका केही सामान सहज रूपमा ल्याउन सक्ने भएका छन्।