नेपाली पासपोर्टको र्‍याङ्किङमा ४ स्थान सुधार, अब ९७औँ स्थानमा

आप्रवासन आप्रवासन

हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ अनुसार नेपाली पासपोर्टको स्थिति केही सुधारिएको छ। गत वर्ष १०१औँ स्थानमा रहेको नेपाल यस वर्ष चार स्थान उक्लिँदै ९७औँ स्थानमा पुगेको छ। नेपालसँगै उत्तर कोरिया पनि ९७औँ स्थानमै रहेको छ, र दुवै देशको भिसा–फ्री स्कोर ३५ रहेको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार सिंगापुर फेरि विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। सिंगापुरका नागरिकले १९२ देशमा भिसाविना प्रवेश पाउने सुविधा पाएका छन्। दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) छन्, जसका पासपोर्टधारीले १८७ देशमा भिसाविनै यात्रा गर्न सक्छन्। तेस्रो स्थानमा स्विडेन रहेको छ।

नेपालको पासपोर्टले प्राप्त गरेको ३५ भिसा–फ्री स्कोरले अघिल्लो वर्षको तुलनामा केही सुधार देखाए पनि अझै पनि दक्षिण एसियाली छिमेकीहरूसँगको तुलना गर्दा अन्तर ठूलो छ। भारत ७८औँ स्थानमा छ भने चीन ५६औँ स्थानमा उक्लिएको छ। पाकिस्तान भने १००औँ स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा अमेरिका पनि पुनः शीर्ष १० भित्र फर्किएको छ। गत वर्ष शीर्ष १० बाट बाहिरिएको अमेरिका यस वर्ष आइसल्यान्डसँगै १०औँ स्थानमा पुगेको छ, जसको भिसा–फ्री स्कोर १७९ छ। उता बेलायतको पासपोर्ट पनि १८३ स्कोरसहित छैटौँ स्थानमा उक्लिएको छ।

सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान पुछारमा छ। अफगानिस्तान १०३औँ स्थानमा रहँदा त्यहाँका नागरिकले केवल २३ देशमा भिसाविना प्रवेश पाउने प्रतिवेदनले देखाएको छ। त्यसपछि सिरिया १०२औँ स्थानमा र इराक १०१औँ स्थानमा रहेका छन्।

नेपालीहरूका लागि यो परिणाम पूर्ण उपलब्धिभन्दा पनि सानो तर सकारात्मक सुधारका रूपमा हेरिएको छ। लगातार केही वर्षदेखि कमजोर मानिँदै आएको नेपाली पासपोर्टको उकालो यात्रा यसपटक पनि जारी रहेको देखिएको छ।