भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा करार सेवामा कार्यरत ग्राउण्ड ह्याण्डेलिङ स्टाफ छन्।
ग्राउण्ड ह्याण्डेलिङमा कार्यरत वायुसेवाका कर्मचारीले काउन्टर सेटिङ गर्ने गरेको सुराक पाएपछि अध्यागमन विभागले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अध्यागमन विभाग र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको पत्रको आधारमा अनुसन्धान गरेर दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले द इमिग्रेसनलाई बताए । पक्राउ पर्नेमा वायुसेवा निगममा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्द छन्। उनीहरू आइतबार पक्राउ परेका हुन्।
उनीहरुले एक जना भारतीय नागरिकलाई सुरुमा भारत जाने बोर्डिङ पास दिएका थिए। सुरक्षा जाँच पार गरेपछि उनलाई फेरी दुबई जाने बोर्डिङ पास दिएर काउन्टर सेटिङ गरेको आरोप छ । जेठ ३ मा ती भारतीय नागरिक दुबई उडेको अध्यागमनको रेकर्डमा भेटिएको छ।
नेपालबाट तेस्रो मुलुक जानु परेमा भारतीय नागरिकले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्छ । तर, प्रस्थान अनुमति नै दिन नमिल्ने यात्रुलाई उनीहरुले दुई वटा विमान कम्पनीको बोर्डिङ पास दिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।
आरोपीहरूले इन्डीगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास र फ्लाई दुबईको दुबई जाने बोर्डिङ उपलब्ध गराएको भेटिएको छ। सुरक्षा जाँच पार गरेपछि ती नागरिकसँग सुमित्राले इन्डीगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको विमानस्थलको सिसिटिभी फुटेजमा देखिएको अध्यागमन विभागका एक जना अधिकृतले द इमिग्रेसनलाई बताए।