कुवेतले घरेलु कामदार भर्ना हुने १० देशको सूची सार्वजनिक

संगम पहरी संगम पहरी

कुवेतको गृह मन्त्रालयले घरेलु कामदार भर्नासम्बन्धी नयाँ परिपत्र जारी गर्दै कामदार लिन पाइने स्रोत देशहरूको सूची अद्यावधिक गरेको छ। नयाँ निर्देशनअनुसार अब १० देशबाट मात्र घरेलु कामदार भर्ना गर्न पाइने व्यवस्था गरिएको छ। सो सूचीमा नेपाल पनि समावेश छ। यो व्यवस्था कुवेतमा घरेलु कामदारका रूपमा जान चाहने नेपालीका लागि महत्वपूर्ण मानिएको छ।

अरब टाइम्सले प्रकाशित गरेको समाचारअनुसार अब दक्षिण अफ्रिका, बेनिन, सेनेगल (पुरुष मात्र), इरिट्रिया, इथियोपिया, फिलिपिन्स, श्रीलंका, भारत, भियतनाम र नेपाल बाट घरेलु कामदार भर्ना गर्न पाइनेछ। मन्त्रालयले भर्ना प्रक्रिया गभर्नोरेट–स्तरका सेवा केन्द्रमार्फत अघि बढाइने जनाएको छ, ताकि आवेदन प्रक्रिया व्यवस्थित र छरितो बनोस्।

यसैसँगै कुवेतले २७ देशबाट घरेलु कामदार भर्ना गर्न प्रतिबन्ध पनि लगाएको छ। यो निर्णय परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पब्लिक अथोरिटी फर म्यानपावरका सिफारिस तथा मूल्याङ्कनका आधारमा गरिएको समाचारमा उल्लेख छ। केही देशका हकमा यो प्रतिबन्ध महिला घरेलु कामदार मा मात्रै लागू हुने व्यवस्था पनि रहेको छ।

समाचारअनुसार अद्यावधिक नीति कुवेतको कूटनीतिक र प्रशासनिक अवस्थालाई ध्यानमा राखेर ल्याइएको हो। सूचीमा परेका केही देशहरूको कुवेतमा कूटनीतिक प्रतिनिधित्व छ भने केहीको छैन, र यही आधारमा निर्णय गरिएको बताइएको छ। निर्देशन सम्बन्धित निवास मामिला विभाग र सेवा केन्द्रहरूमा पठाइसकिएको छ र हालैको अपडेटसँगै लागू भइसकेको छ।

कुवेतमा घरेलु कामका लागि जाने तयारीमा रहेका नेपालीहरूका लागि यो सूचना विशेष रूपमा महत्त्वपूर्ण छ। अब नेपाली नागरिक घरेलु कामदार भर्ना गर्न पाइने सूचीभित्र रहेकाले कानुनी प्रक्रिया, कागजात र वैध माध्यमबारे अझै ध्यान दिनुपर्ने देखिन्छ।