बेलायतमा बढ्दो आप्रवासन तनावबीच नेपाली समुदायलाई एनआरएनए युकेको सतर्क रहन आग्रह

संगम पहरी संगम पहरी

लन्डन । बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्यान्डलगायत केही क्षेत्रमा आप्रवासनसँग जोडिएका तनाव र अशान्तिका घटना सार्वजनिक भइरहेका बेला गैरआवासीय नेपाली संघ (NRNA) यूकेको राष्ट्रिय समन्वय परिषद्ले बेलायतमा बसोबास, रोजगारी तथा व्यवसाय गरिरहेका सम्पूर्ण नेपालीलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ।

संघले १० जुन २०२६ मा जारी गरेको प्रेस वक्तव्यमा पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण गराउँदै नेपाली समुदायलाई कुनै पनि अफवाहमा विश्वास नगर्न र आधिकारिक स्रोतबाट आउने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ।

विज्ञप्तिमा स्थानीय काउन्सिल, सुरक्षा निकाय तथा सरकारी निकायबाट प्राप्त जानकारीलाई मात्रै मान्न आग्रह गरिएको छ। आवश्यक परे प्रहरी र सम्बन्धित नगरपालिकासँग सम्पर्क गरेर सहयोग लिन पनि नेपाली समुदायलाई सुझाइएको छ।

एनआरएनए युकेले विशेषगरी परिवार, समुदायका सदस्य, विद्यार्थी तथा हालै बेलायत पुगेका नेपालीहरूलाई परिस्थितिबारे सचेत र अद्यावधिक राख्न पनि अनुरोध गरेको छ। संघले यस्तो संवेदनशील अवस्थामा अनावश्यक हल्ला, उत्तेजना र असत्य सूचनाले झनै जोखिम बढाउन सक्ने भएकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा शान्ति, आपसी सद्भाव, कानुनको सम्मान र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ। कुनै पनि उत्तेजनात्मक गतिविधिबाट टाढा रहन र समुदायभित्र एकता, संयम तथा पारस्परिक सहयोगको भावना कायम राख्न पनि संघले नेपालीहरूलाई आग्रह गरेको छ।

एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुनसैनीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा बेलायतमा रहेका नेपाली समुदायलाई सुरक्षित रहन, सतर्क रहन र विश्वसनीय सूचना मात्र पछ्याउन पुनः अपिल गरिएको छ।

पछिल्ला दिनमा बेलायतका केही क्षेत्रमा आप्रवासनसम्बन्धी बहस र तनाव बढिरहेको सन्दर्भमा एनआरएनए युकेको यो अपिल नेपाली समुदायका लागि विशेष रूपमा महत्वपूर्ण मानिएको छ।

प्रेस विज्ञप्ति

May be an image of ticket stub and text