मलेसियामा रोजगारदाताले विदेशी श्रमिकलाई प्राथमिकता दिनुको प्रमुख कारण उनीहरूको ओभरटाइम काम गर्ने तयारी र कामप्रतिको लचकता रहेको मलेसियाको क्वालालम्पुर अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार धेरै रोजगारदाताले स्थानीयभन्दा विदेशी श्रमिकलाई बढी रोज्नुको एउटा मुख्य कारण उनीहरू अतिरिक्त समय काम गर्न इच्छुक हुनु र कामको प्रकारमा धेरै छनोट नगर्नु हो।
क्वालालम्पुर अध्यागमन विभागका निर्देशक हम्सा इन्जाउले जुलाई १३ मा राजधानी क्वालालम्पुरका विभिन्न व्यावसायिक प्रतिष्ठानमा गरिएको संयुक्त अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनका अनुसार अध्यागमन विभागले गरेको अनुगमनका क्रममा रोजगारदाताहरूले विदेशी श्रमिकलाई अतिरिक्त समय काम गर्न सक्ने र विभिन्न प्रकारका काम स्वीकार गर्ने भएकाले प्राथमिकता दिने गरेको पाइएको छ।
अध्यागमन विभागले क्वालालम्पुरका १२ वटा व्यावसायिक प्रतिष्ठानमा एकीकृत अनुगमन सञ्चालन गरेको थियो। नाई पसल, सवारी मर्मत केन्द्र, रेस्टुरेन्ट, कार वास सेन्टर तथा किराना पसललाई लक्षित गरी गरिएको उक्त कारबाहीमा अध्यागमन विभागका ३३ जना अधिकारी र क्वालालम्पुर सिटी हल (डीबीकेएल) का ११ जना प्रवर्तन अधिकारी सहभागी थिए।
अनुगमनका क्रममा ३९ जनाको कागजात जाँच गरिएको थियो। जसमध्ये २५ देखि ३२ वर्ष उमेर समूहका १८ जना विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी विभिन्न कानुन उल्लङ्घन गरेको आशंकामा नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक रहेका छन्। उनीहरूमाथि वैध यात्रा वा परिचयपत्र नबोक्ने, भिसाको सर्त उल्लङ्घन गर्ने, भिसा अवधि समाप्त भएपछि पनि बसिरहने तथा मान्यता नपाएका परिचयपत्र प्रयोग गरेको आरोप लागेको छ। सबैलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन डिपोमा राखिएको विभागले जनाएको छ।
यसै क्रममा अनुसन्धानमा सहयोग गर्न दुई जना मलेसियाली नागरिकलाई 'फर्म–२९' अन्तर्गत सूचना पनि जारी गरिएको छ। निर्देशक इन्जाउले अवैध आप्रवासीलाई आश्रय दिने, गैरकानुनी रूपमा रोजगारी दिने वा अध्यागमन कानुन उल्लङ्घन गर्ने रोजगारदाता तथा व्यवसायीविरुद्ध कुनै सम्झौता नगरी कारबाही जारी रहने स्पष्ट पारेका छन्। साथै, कागजातविहीन विदेशी नागरिकलाई मे ३१, २०२७ सम्म सञ्चालन हुने 'माइग्रेन्ट रिप्याट्रिएसन प्रोग्राम (पीआरएम) २.०' को सुविधा उपयोग गरी स्वदेश फर्किन पनि आग्रह गरिएको छ।
यो विषय नेपाली श्रमिकका लागि विशेष महत्व राख्छ। मलेसिया नेपालीहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो, जहाँ हजारौं नेपाली उत्पादन, निर्माण, सेवा तथा अन्य क्षेत्रमा कार्यरत छन्। मलेसियामा रोजगारीका अवसर अझै कायम रहे पनि अध्यागमन कानुनको पालना, वैध कागजात, श्रम सम्झौताको सम्मान तथा कानुनी हैसियत कायम राख्नु प्रत्येक नेपाली श्रमिकका लागि अनिवार्य रहेको देखिएको छ। साथै, ओभरटाइम काम गर्ने विषय श्रमिकको अधिकार, स्वास्थ्य र श्रम सम्झौताअनुसार हुनुपर्ने भएकाले रोजगारदाता र श्रमिक दुवैले प्रचलित श्रम कानुनको पालना गर्नुपर्ने विज्ञहरूले बताएका छन्।