इजरायलले कृषि तथा केयरगिभिङ क्षेत्रमा थप नेपाली श्रमिक लैजाने इच्छा व्यक्त गरेको छ। हाल सरकारी संयन्त्रमार्फत संस्थागत रूपमा नेपाली श्रमिक भर्ना गर्दै आएको इजरायलले अब व्यक्तिगत रूपमा पनि नेपाली श्रमिक लैजान चाहेको जनाएको हो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठसँग भएको भेटमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले कृषि र हेरचाह (केयरगिभिङ) क्षेत्रमा नेपाली श्रमिकको माग अझै उच्च रहेको भन्दै आगामी दिनमा व्यक्तिगत रूपमा पनि श्रमिक लैजाने सम्भावनाबारे चासो व्यक्त गरेका हुन्।
महासङ्घका अनुसार राजदूत बासले नेपाली श्रमिक मेहनती, इमान्दार र दक्ष भएकाले इजरायलमा उनीहरूका लागि थप रोजगारीका अवसर विस्तार गर्न आफ्नो देश इच्छुक रहेको बताएका छन्। विशेषगरी नेपाली महिला श्रमिकका लागि इजरायल सुरक्षित श्रम गन्तव्य रहेको उल्लेख गर्दै भविष्यमा नेपाल–इजरायल श्रम सहकार्यलाई अझ विस्तार गर्ने तयारी रहेको पनि उनले जानकारी दिएका छन्।
भेटका क्रममा इजरायलले नेपालमा लगानी विस्तार गर्न समेत चासो देखाएको छ। इजरायली व्यवसायीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि लगानीको सुरक्षा, दोहोरो कर छुट तथा नाफा सहज रूपमा स्वदेश लैजान सक्ने कानुनी व्यवस्था स्पष्ट हुनुपर्ने धारणा राजदूत बासले राखेका छन्।
उनले नेपालसँग सिमेन्ट, जडीबुटी तथा औषधिजन्य उत्पादन, चिया, कृषि उत्पादनको मूल्य अभिवृद्धि, आधुनिक कृषि प्रविधि, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्न इजरायल तयार रहेको बताएका छन्। दुई देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य बढे व्यापार, लगानी र प्रविधि आदानप्रदानमा नयाँ अवसर सिर्जना हुने उनको विश्वास छ।
महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पनि हाल संस्थागत रूपमा नेपाली श्रमिक इजरायल गइरहेको अवस्थामा व्यक्तिगत रूपमा केयरगिभिङ र कृषि क्षेत्रमा श्रमिक लैजाने इजरायलको इच्छाले नेपाली युवाका लागि थप रोजगारीका अवसर खुल्ने बताएका छन्।
उनले नेपाल र इजरायलका निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, संयुक्त लगानी तथा संस्थागत साझेदारी विस्तार गर्न महासङ्घ तयार रहेको जानकारी दिएका छन्। नेपालमा राजनीतिक स्थायित्व कायम हुँदै गएको, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत सुधार र व्यावसायिक प्रक्रिया सरलीकरण गरिरहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको पनि उनले बताएका छन्।
भेटका क्रममा सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासङ्घ र फेडरेसन अफ इजरायली चेम्बर अफ कमर्सबीच भएको सम्झौता नवीकरण गर्दै दुई देशबीचको आर्थिक तथा व्यावसायिक सहकार्यलाई अझ विस्तार गर्ने विषयमा समेत दुवै पक्ष सहमत भएका छन्।
यदि इजरायलले व्यक्तिगत रूपमा नेपाली श्रमिक भर्ना गर्ने व्यवस्था अघि बढायो भने कृषि र केयरगिभिङ क्षेत्रमा रोजगारी खोजिरहेका नेपालीका लागि नयाँ अवसर थपिने अपेक्षा गरिएको छ। यद्यपि, यस्तो व्यवस्था कार्यान्वयनका लागि नेपाल र इजरायलबीच आवश्यक नीतिगत तथा कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेको छ।