वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी तथा मुद्दा दर्ता प्रक्रियालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित वैदेशिक रोजगार विभागले ‘उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली (ujuri.dofe.gov.np)’ सञ्चालनमा ल्याएको छ। युवा, श्रम तथा रोजगार मन्त्रीको उपस्थितिमा शुभारम्भ गरिएको उक्त प्रणालीमार्फत अब वैदेशिक रोजगारसँग सम्बन्धित पीडित तथा सरोकारवालाले विभागमा धाउनुपर्ने बाध्यता हट्ने भएको विभागले जनाएको छ।
विभागका अनुसार नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारीमा जाँदा वा विदेशमा रहँदा उत्पन्न भएका विभिन्न समस्या, ठगी, सम्झौताविपरीत काम, सेवा सुविधासम्बन्धी विवाद, म्यानपावर कम्पनीसँग भएका गुनासा लगायतका विषयमा अनलाइनमार्फत नै उजुरी दर्ता गर्न सकिनेछ। उजुरी दर्ता गरेपछि त्यसको प्रगति, कारबाहीको अवस्था र निर्णयसम्बन्धी जानकारी पनि सेवाग्राहीले आफ्नै प्रोफाइलबाट हेर्न सक्ने व्यवस्था गरिएको छ।
विभागले यस प्रणालीले सेवाग्राहीलाई कार्यालयसम्म पटक–पटक पुग्नुपर्ने झन्झट कम गर्नुका साथै उजुरी व्यवस्थापनलाई छिटो, सरल, सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। साथै, उजुरीसम्बन्धी सम्पूर्ण अभिलेख डिजिटल रूपमा सुरक्षित रहने भएकाले पारदर्शिता र जवाफदेहिता पनि बढ्ने विभागको भनाइ छ।
प्रेस नोटअनुसार प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार कार्यालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट हुने सिफारिस तथा अन्य प्रशासनिक प्रक्रियासमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। यसले उजुरीको छानबिन तथा समाधान प्रक्रियालाई अझ प्रभावकारी बनाउने विभागको विश्वास छ।
यस्तै, वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली कामदार वा उनीहरूका परिवारले पनि इन्टरनेटको माध्यमबाट जुनसुकै स्थानबाट सहज रूपमा उजुरी दर्ता गर्न सक्नेछन्। यसबाट समय र खर्चको बचत हुनुका साथै सेवा पहुँच पनि विस्तार हुने विभागले जनाएको छ।
नेपालबाट प्रत्येक वर्ष ठूलो संख्यामा श्रमिक वैदेशिक रोजगारीमा जाने भएकाले उनीहरूको गुनासो व्यवस्थापनलाई आधुनिक र डिजिटल बनाउने दिशामा यो प्रणाली महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। सरकारले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने नीति अनुरूप विभागले डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ।
