दक्षिण लेबनानमा हिंसा चर्किँदा कम्तीमा एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु भएको छ । यस घटनाले दुवै देशबिच जारी युद्धविराम कार्यान्वयनसम्बन्धी वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले दक्षिणी सहर टिबनिनमा गरेको हवाई आक्रमणमा चिहानभित्र रहेको प्रार्थना भवनको छानामा क्षति पुगेको थियो । उक्त आक्रमणमा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
यसअघि दक्षिणी गाउँ माजदल जुनमा विस्फोटक पदार्थले भरिएको भवनभित्र भएको शक्तिशाली विस्फोटमा दुई इजरायली सैनिक मारिएका थिए । उक्त घटनामा एक सैनिक गम्भीर घाइते भएका छन् भने अन्य केही सैनिक पनि घाइते भएको इजरायली सेनाले जनाएको छ । मृतक सैनिकहरूको नाम हरेल बिरेनस्टक र तामिर वाक्निन रहेको पुष्टि गरिएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता इजरायली आक्रमणका कारण कम्तीमा ४ हजार ३३३ जनाको मृत्यु भइसकेको छ भने १२ हवार २५० जना घाइते भएका छन् । घटनापछि इजरायली सेनाले दक्षिण लेबनानका विभिन्न क्षेत्रमा सटिक आक्रमण सुरु गरेको जनाएको छ ।
सेनाले यी कारबाही युद्धविराम उल्लङ्घनको जवाफ स्वरूप गरिएको दाबी गरेको छ । साथै अल–मान्सुरी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिँदै नयाँ विस्थापन सूचना पनि जारी गरिएको छ ।