रुसको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि युक्रेनी ड्रोन आक्रमण

आप्रवासन आप्रवासन

 

 युक्रेनले रुसको प्रमुख तेल प्रशोधन केन्द्रमध्ये एकमा पुनः ड्रोन आक्रमण गरेको छ ।

रुसी अधिकारीहरूका अनुसार बिहीबार बिहान युक्रेनका ड्रोनहरूले यारोस्लाभ्ल क्षेत्रमा आक्रमण गरेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि स्लाभनेफ्ट–यानोस तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । युक्रेनले सन् २०२६ मा उक्त प्रशोधन केन्द्रमाथि गरेको यो सातौँ आक्रमण भएको बताइएको छ । पछिल्ला महिनाहरूमा युक्रेनले रुसको ऊर्जा पूर्वाधारलाई लगातार निशाना बनाएपछि देशभर इन्धन अभाव गहिरिँदै गएको विश्लेषकहरूले बताएका छन् ।

यारोस्लाभ्ल क्षेत्रका गभर्नर मिखाइल येभ्रायेभले ड्रोन आक्रमण भएको पुष्टि गरेका छन् । उनले सुरक्षा कारण देखाउँदै यारोस्लाभ्लबाट मस्कोतर्फ जाने सडकमा अस्थायी रूपमा यातायात सीमित गरिएको जानकारी दिएका छन् । यद्यपि उनले प्रशोधन केन्द्रमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सहरमाथि ठुलो विस्फोट भएको र आकाशमा बाक्लो धुवाँ उठिरहेको देखिएको छ ।

स्थानीय सञ्चारमाध्यम अस्त्राका अनुसार आगलागी स्लाभनेफ्ट–यानोस तेल प्रशोधन केन्द्र भित्रै भएको हो । स्लाभनेफ्ट–यानोस रुसका सबैभन्दा ठूला पाँच तेल प्रशोधन केन्द्रमध्ये एक हो । यस केन्द्रले वार्षिक ८८१ करोड ५० लाख मेट्रिक टन कच्चा तेल८८ प्रशोधन गर्न सक्ने क्षमता राख्छ । यो कम्पनीमा रुसी सरकारी ऊर्जा कम्पनी रोसनेफ्ट८८ र गाजप्रोमको संयुक्त रूपमा करिब ९९.७ प्रतिशत स्वामित्व छ । यस केन्द्रबाट उत्पादन हुने इन्धन नागरिक उपभोगका साथै रुसी सेनाले पनि प्रयोग गर्ने भएकाले यसको रणनीतिक महत्त्व अत्यधिक रहेको मानिन्छ ।

सन् २०२६ मा मात्र युक्रेनले यस प्रशोधन केन्द्रमाथि सात पटक आक्रमण गरिसकेको छ । यसअघि मार्च २८, अप्रिल २६, मे ८ र २२, जुलाई ६ र १६ मा पनि ड्रोन आक्रमण भएको थियो । अघिल्ला आक्रमणका कारण प्रशोधन केन्द्रले केही समय उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको थियो । युक्रेनले रुसको ऊर्जा आपूर्ति प्रणालीलाई कमजोर बनाउने रणनीति अन्तर्गत यस्ता आक्रमणहरू तीव्र पारिरहेको छ । युक्रेनले पछिल्लो समय रुसका तेल प्रशोधन केन्द्र, इन्धन भण्डारण स्थल तथा ऊर्जा पूर्वाधारलाई प्राथमिक लक्ष्य बनाउँदै आएको छ ।

यस्ता आक्रमणले रुसी सेनाको इन्धन आपूर्ति कमजोर पार्नुका साथै युद्ध सञ्चालन क्षमतामा पनि असर पार्ने युक्रेनी सैन्य रणनीतिकारहरूको विश्वास छ ।  यसका साथै नागरिक बजारमा इन्धन अभाव सिर्जना हुँदा रुसमाथि आर्थिक तथा सामाजिक दबाब पनि बढ्ने अपेक्षा गरिएको छ । पछिल्ला महिनाहरूमा भएका लगातार आक्रमणपछि रुसले देशव्यापी इन्धन अभावको सामना गरिरहेको छ । युक्रेनको जनरल स्टाफका अनुसार जुलाईको सुरुसम्म रुसको कुल तेल प्रशोधन क्षमताको ४३ प्रतिशत भाग अस्थायी रूपमा सञ्चालन बाहिर पुगेको थियो ।

पछिल्ला निगरानी तथ्याङ्कले रुसी तेल प्रशोधन उत्पादन २१ वर्षयताकै न्यून स्तरमा झरेको देखाएका छन् । हाल उत्पादन दैनिक करिब ३९ लाख १० हजार ब्यारेलमा सीमित भएको बताइएको छ । इन्धन अभावका कारण रुसका विभिन्न क्षेत्रमा पेट्रोल पम्पबाहिर सवारीसाधनको लामो लाइन देखिन थालेको छ । विशेष गरी साइबेरियाका केही क्षेत्रमा सरकारले इन्धन वितरणमा कोटा प्रणाली लागू गरेको छ ।

कतिपय स्थानमा इन्धनको अभावलाई लिएर विवाद बढेपछि स्थानीय प्रशासनले प्रहरी तथा शिक्षकसम्मलाई व्यवस्था मिलाउन परिचालन गरेको समाचारहरू सार्वजनिक भएका छन् । इन्धन संकट गहिरिँदै गएपछि रुस सरकारले विभिन्न प्रकारका इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको छ । सरकारले अप्रिलदेखि पेट्रोल, जुन १ देखि जेट इन्धन तथा जुलाई ८ देखि डिजेल निर्यात रोक्ने निर्णय गरेको थियो । यससँगै रुसले भारत, काजाकिस्तान र बेलारुसबाट पेट्रोल आयात गर्न थालेको छ । तर आयात गरिएको इन्धन देशको मासिक करिब ३० लाख टन आवश्यकताभन्दा निकै कम भएकाले अभाव तत्काल समाधान हुने सम्भावना कम देखिएको छ ।