लाल सागरको दक्षिणी प्रवेशद्वार बाब अल–मन्डेब स्ट्रेटनजिक पछिल्ला केही दिनमा दुईवटा जहाजमाथि आक्रमण भएको घटनाले अन्तर्राष्ट्रिय समुद्री सुरक्षाप्रति नयाँ चिन्ता उत्पन्न गरेको छ ।
समुद्री सुरक्षा निकायहरूले घटनाको अनुसन्धान गरिरहेका छन् भने सुरक्षा विज्ञहरूले यसलाई क्षेत्रीय तनाव थप चर्किने संकेतका रूपमा व्याख्या गरेका छन् ।
बाब अल–मन्डेब स्ट्रेट विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो । यो मार्ग हुँदै हरेक वर्ष लाखौँ ब्यारेल कच्चा तेल, प्राकृतिक ग्यास र अन्य व्यापारिक सामान युरोप, एसिया तथा मध्यपूर्वका देशहरूबीच ओसारपसार हुने गर्दछ । त्यसैले यहाँ हुने कुनै पनि सुरक्षा चुनौतीले विश्व व्यापार र ऊर्जा बजारमा प्रत्यक्ष असर पार्न सक्छ ।
बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार यमनको अल मुखा तट नजिक एक व्यापारिक जहाजमाथि चालकविहीन सतही जलयानमार्फत आक्रमण गरिएको थियो । मंगलबार पहिलो पटक सार्वजनिक भएको उक्त घटनापछि जहाजमा आगलागी भएको थियो । क्षति गम्भीर भएपछि जहाज अन्ततः समुद्रमा डुबेको बताइएको छ । भारतीय अधिकारीहरूले पनि भारतीय झण्डा बोकेको एक जहाजमाथि प्रक्षेप्य प्रहार भएको पुष्टि गरेका छन् ।
जहाजमा रहेका १४ जना नाविकलाई सुरक्षित रूपमा उद्धार गरी यमनको अल मुखा बन्दरगाहमा पुर्याइएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा कुनै मानवीय क्षति भएको पुष्टि भएको छैन । बुधबार अर्को घटना यमनको अदेन शहरबाट करिब ९५ नौटिकल माइल (झण्डै १७६ किलोमिटर) दक्षिणपूर्वमा भएको थियो । यूकेएमटीओका अनुसार एउटा जहाज नजिक ठूलो विस्फोटको आवाज सुनिएको थियो । प्रारम्भिक विवरणअनुसार जहाजका सबै चालकदल सदस्य सुरक्षित रहेका छन् र घटनाबाट समुद्री वातावरणमा कुनै प्रदूषण नभएको बताइएको छ ।
घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायहरूले अनुसन्धान गरिरहेका छन् । यूकेएमटीओले आक्रमणमा संलग्न पक्षको नाम सार्वजनिक गरेको छैन । तर पछिल्ला महिनाहरूमा इरान समर्थित हुथी विद्रोही समूहले बाब अल–मन्डेब क्षेत्र हुँदै आवतजावत गर्ने जहाजहरूलाई बारम्बार निशाना बनाउने चेतावनी दिँदै आएको छ । यस कारण धेरै अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूले यी घटनाहरूमा हुथी समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन ।
बुधबार हाउथी समूहले एक वक्तव्य जारी गर्दै उत्तरी लाल सागरमा साउदी अरबसँग सम्बन्धित जहाजहरूलाई अझ व्यापक रूपमा निशाना बनाउने घोषणा गरेको छ । समूहले आफ्नो अभियानलाई जारी राख्ने र थप तीव्र बनाउने बताएको छ । हुथीका अनुसार उनीहरूको उद्देश्य उत्तरी लाल सागरका सबै समुद्री प्रवेश मार्गहरू बन्द गर्नु र साउदीसँग सम्बन्धित जहाजहरूको आवतजावत रोक्नु हो । समुद्री सुरक्षा तथा विश्लेषण संस्था मारिस्क्सले हाउथी समूहको पछिल्लो घोषणालाई अत्यन्त गम्भीर चेतावनीका रूपमा व्याख्या गरेको छ । संस्थाका अनुसार यसअघि मुख्य रूपमा बाब अल–मन्डेब क्षेत्र केन्द्रित आक्रमण अब सम्पूर्ण लाल सागर क्षेत्रमा विस्तार हुन सक्ने संकेत देखिएको छ ।
उत्तरी लाल सागरलाई पनि सञ्चालन क्षेत्र घोषणा गर्नुले हुथी समूहको रणनीति र भौगोलिक पहुँच दुवै विस्तार भएको देखाउने मारिस्क्सले आफ्नो विश्लेषणमा भनेको छ । यदि यस्तो अवस्था जारी रह्यो भने साउदीसँग सम्बन्धित जहाजहरूले सम्पूर्ण लाल सागर क्षेत्रमा निरन्तर सुरक्षा जोखिमको सामना गर्नुपर्ने हुन सक्छ ।