अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराई र त्रिभुवन विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ ।
विशेष अदातलतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावल र विदुर कोइरालाको इजलासबाट सोमबार प्रमाण बुझ्ने आदेश भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
अख्तियारले भट्टराईसहित तीन जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा चलाएको थियो । मुख्य प्रतिवादी बनाइएका भट्टराईविरुद्ध ७९ लाख ८० हजार बिगो, त्यति नै जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको थियो । कार्यालय प्रमुख भएका कारण उनलाई थप ३ वर्ष कैद सजाय पनि मागदाबी छ ।
अर्यालविरुद्ध ८ लाख बिगो र त्यति नै जरिवाना तथा २ देखि ४ वर्षसम्म कैद सजाय दाबी गरिएको छ । यस्तै, मतियारका रूपमा प्रतिवादी ग्रिनलाइन होलिडेज ट्राभलका प्रमुख बालकृष्ण खड्काविरुद्ध ३० लाख २० हजार र फेमिली होलिडेज ट्राभल्सका सञ्चालक राम खड्काविरुद्ध ३० लाख २० हजार बिगो, त्यति नै जरिवाना असुल र ४ देखि ६ वर्षसम्म कैद हुनुपर्ने माग छ ।
फेमिली होलिडेज ट्राभल्सका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार बिगो र त्यति नै जरिवाना तथा २ वर्षदेखि ४ वर्षसम्म कैद सजाग मागदाबी छ । बिचौलियाद्वय कविता पौडेल र खेमप्रसाद सुवेदीविरुद्ध जनही ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ । उनीहरूलाई बिगो, बिगो बराबर जरिवाना र ६ देखि ८ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गिरोहबाट बुझेको रकम शुद्धीकरण गरेको कसुरमा अख्तियारले सहसचिव भट्टराई, पौडेल र सुबेदीविरुद्ध १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँका दरले बिगो असुल, त्यति नै जरिवाना र ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । भट्टराईले गैरकानुनी रूपमा आर्जित सम्पत्ति पौडेल र सुवेदीमार्फत परिचालन गरी शुद्धीकरण गरेको अभियोग लगाइएको छ ।