कुवेतमा नेपाली श्रमिकका लागि राहत, श्रम समस्या अब एकै ट्यापमा उजुरी

आप्रवासन आप्रवासन

कुवेतको सार्वजनिक श्रम प्राधिकरणले श्रमसम्बन्धी उल्लङ्घनबारे अनलाइन उजुरी दिन सकिने ‘रिपोर्ट’ सेवा सुरु गरेको छ। यो सेवा ‘साहेल’ एपमार्फत उपलब्ध हुनेछ र कुवेतमा रहेका नेपालीसहित विदेशी श्रमिकका लागि समेत उपयोगी हुने देखिएको छ।

प्राधिकरणका अनुसार नागरिक तथा आप्रवासीले आफ्नो पहिचानसहित श्रमसम्बन्धी समस्या वा उल्लङ्घनको विवरण अनलाइन पठाउन सक्नेछन्। उजुरीकर्ताको व्यक्तिगत जानकारी पूर्ण रूपमा गोप्य राखिने र विशेष टोलीले उजुरीको जाँच तथा प्रमाणीकरण गरी आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

‘साहेल’ एपमा प्राधिकरणको सेवा छनोट गरी उल्लङ्घनको प्रकार उल्लेख गर्नुपर्नेछ। त्यसपछि घटनाको विस्तृत विवरण र आवश्यक परे फोटोसमेत संलग्न गरेर उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ। स्पष्ट र सही विवरण उपलब्ध गराउँदा निरीक्षण तथा कारबाही प्रक्रिया छिटो अघि बढाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार घरेलु कामदार भर्ती कार्यालयका अनियमितता, इजाजतपत्रबिना काम गर्ने व्यक्ति वा कम्पनी तथा गर्मीमा दिउँसो ११ बजेदेखि ४ बजेसम्म लागू हुने बाहिरी काम प्रतिबन्ध उल्लङ्घनजस्ता विषयमा पनि यसमार्फत उजुरी गर्न सकिनेछ।

यो सेवा मानव बेचबिखनविरुद्धको विश्व दिवसको अवसरसँगै सुरु गरिएको हो। प्राधिकरणले श्रम बजारमा अनियमितता नियन्त्रण, श्रमिक अधिकारको संरक्षण र सरकारी अनुगमनमा सर्वसाधारणको सहभागिता बढाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

स्रोत: अरब टाइम्स।