जापानमा थप विदेशी श्रमिक भित्र्याउने पक्षमा रहेको जनसमर्थन ६० प्रतिशतभन्दा तल झरेको एक राष्ट्रव्यापी सर्वेक्षणले देखाएको छ। सर्वेक्षणअनुसार ५८.२ प्रतिशत जापानीले विदेशी श्रमिकको संख्या बढाउने पक्षमा समर्थन वा केही हदसम्म समर्थन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशत अंक कम हो।
सर्वेक्षणमा ३३.२ प्रतिशतले विदेशी श्रमिकको संख्या बढाउने प्रस्तावको विरोध वा केही हदसम्म विरोध गरेका छन्। अघिल्लो वर्षको तुलनामा विरोध गर्नेको संख्या २.७ प्रतिशत अंकले बढेको हो।
जेसी प्रेसको सर्वेक्षणका लागि मे १५ देखि १८ सम्म जापानभर १८ वर्ष वा सोभन्दा माथिका २ हजार जनासँग प्रत्यक्ष अन्तर्वार्ता गरिएको थियो। त्यसमध्ये १ हजार १७२ जनाको प्रतिक्रियालाई मान्य मानेर नतिजा सार्वजनिक गरिएको हो।
उमेर समूहअनुसार हेर्दा युवा पुस्तामा विदेशी श्रमिक थप्ने विषयप्रति विरोध तुलनात्मक रूपमा बढी देखिएको छ। ३० वर्ष उमेर समूहका ३९.५ प्रतिशतले विरोध गरेका छन् भने ५३.९ प्रतिशतले समर्थन गरेका छन्। १८ देखि २९ वर्ष उमेर समूहमा ३६.९ प्रतिशत विरोधमा र ५३.८ प्रतिशत समर्थनमा देखिएका छन्। ४०, ५० र ६० वर्ष उमेर समूहमा भने समर्थन ६० प्रतिशतभन्दा माथि रहेको छ।
विदेशी श्रमिक बढाउन समर्थन गर्नेहरूमध्ये ८५.५ प्रतिशतले यसबाट जापानमा रहेको श्रमिक अभाव कम गर्न सहयोग पुग्ने बताएका छन्। ६२.३ प्रतिशतले घट्दो तथा वृद्ध हुँदै गएको जनसंख्याका कारण युवा श्रमिक आवश्यक रहेको बताएका छन्। केहीले विदेशी श्रमिक मेहनती हुने र उनीहरूको उपस्थितिले जापानलाई थप अन्तर्राष्ट्रिय बनाउन सहयोग गर्ने बताएका छन्।
विरोध गर्नेहरूमध्ये ७४ प्रतिशतले अवैध रूपमा बस्ने तथा अन्य समस्याका कारण सार्वजनिक सुरक्षामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। जापानी बेरोजगारलाई पहिलो प्राथमिकता दिनुपर्ने, विदेशीले स्थानीय नियम पालना नगर्न सक्ने, सामाजिक सुरक्षामा सरकारी खर्च बढ्न सक्ने तथा विदेशी श्रमिकको संख्या बढाउनु अन्ततः आप्रवासनलाई प्रवर्द्धन गर्ने नीतितर्फ जान सक्ने जस्ता कारण पनि दिइएका छन्।
पछिल्लो दुई वर्षको तथ्यांकले विदेशी श्रमिकप्रतिको जनसमर्थन लगातार घटिरहेको देखाउँछ। सन् २०२४ मा विदेशी श्रमिक थप्ने पक्षमा ७१.८ प्रतिशत समर्थन रहेकोमा २०२५ मा घटेर ६२.३ प्रतिशत र यस वर्ष ५८.२ प्रतिशतमा पुगेको छ। सोही अवधिमा विरोध २१.१ प्रतिशतबाट बढेर ३०.५ प्रतिशत हुँदै अहिले ३३.२ प्रतिशत पुगेको छ।
यद्यपि जापानमा विदेशी श्रमिकको आवश्यकता भने कायमै छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार गत वर्ष अक्टोबर अन्त्यसम्म जापानमा विदेशी श्रमिकको संख्या करिब २५ लाख ७० हजार पुगेको थियो। यो लगातार १३औँ वर्षको रेकर्ड संख्या हो।
जापानले घट्दो जनसंख्या र दीर्घकालीन श्रमिक अभावलाई सम्बोधन गर्न विदेशी श्रमिकका लागि कानुनी रोजगारीका बाटा विस्तार गर्दै आएको छ। सन् २०१९ मा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ प्रणाली ल्याएको जापानले आर्थिक वर्ष २०२७ देखि प्राविधिक प्रशिक्षार्थी प्रणालीको स्थानमा नयाँ ‘एम्प्लोयमेन्ट फर स्किल डेभलपमेन्ट’ कार्यक्रम लागू गर्ने तयारी गरेको छ। सरकारले यी दुई प्रणालीअन्तर्गत आर्थिक वर्ष २०२८ को अन्त्यसम्म १२ लाख ३१ हजार ९ सय विदेशी श्रमिक स्वीकार गर्ने लक्ष्यसमेत तय गरेको छ।
नेपालबाट पनि जापान रोजगारीका लागि जाने श्रमिकको संख्या बढिरहेका बेला पछिल्लो सर्वेक्षणले जापानी समाजमा विदेशी श्रमिक स्वीकार गर्ने विषयमा समर्थन घट्दै गएको देखाएको छ। तर यसले तत्काल विदेशी श्रमिकका लागि जापानको रोजगारी मार्ग बन्द हुने संकेत भने गर्दैन। जापानमा श्रमिक अभाव र विदेशी श्रमिकको आवश्यकता अझै ठूलो रहेको तथ्यांकले देखाउँछ।