मलेसियाको सारावाकस्थित कुचिङमा सम्पन्न एसिया प्यासिफिक क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड कार्यक्रम ‘पाटा ट्राभल मार्ट २०२६’ मा नेपालले आफ्नो पर्यटकीय विविधता र वेलनेस पर्यटनको प्रभावकारी प्रवर्द्धन गरेको छ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नौ वटा ट्राभल ट्रेड कम्पनीको सहकार्यमा अगस्ट १८ देखि २० सम्म आयोजना गरिएको यस मार्टमा नेपालले सहभागिता जनाएको हो।
मार्टमा ४८ देश र गन्तव्यका १,१०० भन्दा बढी पर्यटन प्रतिनिधिको सहभागिता थियो। जसमा २९ स्रोत बजारका २२१ खरिदकर्ता र २०० भन्दा बढी संस्था तथा गन्तव्यका ३६५ भन्दा बढी बिक्रेता सहभागी थिए। ‘नेपाल प्याभिलियन’ मार्फत नेपालका पर्वतारोहण, ट्रेकिङ, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल र सामुदायिक पर्यटन जस्ता विविध पक्षहरू प्रदर्शन गरिएका छन्।
सन् २०२७ लाई ‘वेलनेस वर्ष’ का रूपमा मनाउने तयारी भइरहेका बेला नेपाली व्यवसायीहरूले गन्तव्यको आकर्षणसँगै वेलनेस सेवाको समेत प्रवर्द्धन गरेका हुन्। साथै आगामी सन् २०२७ जुन १ देखि ४ सम्म काठमाडौँमा आयोजना हुने ७औँ ‘हिमालयन ट्राभल मार्ट’ को समेत यस अवसरमा प्रवर्द्धन गरिएको छ। कार्यक्रमबारे बोल्दै पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुरले भने, ‘पाटा ट्राभल मार्ट २०२६ नेपाली बिक्रेताहरूका लागि निकै फलदायी रह्यो। पाटा नेपाल च्याप्टरले विश्वभरका च्याप्टरहरूमध्ये पुनः अवार्ड अफ एक्सिलेन्स प्राप्त गरेकोमा यो हाम्रा लागि गौरवको क्षण बनेको छ।’
पाटा मुख्यालयका सिइओ नूर अहमद हामिदले भने, ‘पाटा ट्राभल मार्टको आयोजना एक कार्यक्रम मात्र नभई मूल्यवान र गुणस्तरीय व्यावसायिक सम्बन्धहरू निर्माण गर्नु हो। यसबाट सिर्जना हुने अवसरहरूले दिगो साझेदारीको रूप लिनेछन्।’मार्टका दुई दिनमा खरिदकर्ता र बिक्रेताहरूबीच ४,००० भन्दा बढी व्यावसायिक भेटघाटहरू भएका थिए। पाटा ट्राभल मार्टको आगामी संस्करण सन् २०२७ सेप्टेम्बर २० देखि २२ सम्म मकाउमा आयोजना हुनेछ।