मलेसियाले आगामी ६ महिनाभित्र करिब २ लाख बंगलादेशी श्रमिक लैजाने भएको छ। बंगलादेश सरकारका अनुसार श्रमिक पठाउने प्रक्रिया आगामी सेप्टेम्बरको अन्त्यदेखि चरणबद्ध रूपमा सुरु हुनेछ।
बंगलादेशका स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी राज्यमन्त्री मिर शाहे आलमले अगस्ट ३० मा मलेसियाली उच्चायुक्त मोहम्मद शुहादा ओथमानसँगको भेटपछि यस्तो जानकारी दिएका हुन्। उनका अनुसार मलेसियाले करिब २ लाख बंगलादेशी श्रमिकलाई आगामी ६ महिनाभित्र विभिन्न चरणमा रोजगारीका लागि लैजाने योजना बनाएको छ।
यसअघि बंगलादेशले अगस्टको अन्तिम साताबाटै श्रमिक मलेसिया पठाउन सुरु गर्ने लक्ष्य राखेको थियो। तर पछिल्लो छलफलपछि श्रमिक पठाउने समय सेप्टेम्बरको अन्त्यसम्म सरेको हो। अब पहिलो चरणमा श्रमिक पठाउने र त्यसपछि क्रमशः प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
मलेसियाले बंगलादेशी श्रमिक भर्नाका लागि २५ वटा बंगलादेशी भर्ती एजेन्सीलाई प्रत्यक्ष रूपमा छनोट गरेको छ भने थप ३१२ वटा एजेन्सीलाई सहायकका रूपमा काम गर्न अनुमति दिएको बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएको छ। सरकारी स्वामित्वको बंगलादेश ओभरसिज इम्प्लोयमेन्ट एन्ड सर्भिसेज लिमिटेड पनि प्रक्रियामा सहभागी हुनेछ। यससँगै श्रमिक भर्नामा सहभागी हुने संस्थाको संख्या ३३८ पुगेको छ।
यसैबीच १० हजार बंगलादेशी श्रमिकलाई शून्य लागतमा मलेसिया पठाउने छुट्टै कार्यक्रमसमेत अघि बढाइएको छ। सरकारी संस्था बीओईएसएलमार्फत पठाइने यी श्रमिकले हवाई टिकट तथा अन्य वैदेशिक रोजगारसम्बन्धी लागत तिर्नु नपर्ने व्यवस्था गरिएको छ। पहिलो समूहलाई चार्टर्ड उडानमार्फत पठाउने तयारी रहेको बंगलादेशी पक्षले जनाएको छ।
बंगलादेश सरकारले भने औपचारिक निर्देशन जारी नभएसम्म सम्भावित श्रमिकलाई कुनै रकम नतिर्न, स्वास्थ्य परीक्षण नगर्न र राहदानी बुझाउन हतार नगर्न आग्रह गरेको छ। विगतमा मलेसिया रोजगारीका क्रममा उच्च भर्ती शुल्क, बिचौलियाको प्रभाव र श्रमिकमाथि आर्थिक शोषणका समस्या देखिएपछि यसपटक प्रक्रिया पारदर्शी र कम लागतमा सञ्चालन गर्ने विषयमा दुवै देशले जोड दिएका छन्।
मलेसिया र बंगलादेशले गत जुनमा पनि योग्य एजेन्सीमार्फत पारदर्शी, निष्पक्ष, गैरभेदभावपूर्ण र प्रतिस्पर्धात्मक रूपमा श्रमिक भर्ती गर्ने प्रतिबद्धता जनाएका थिए। नयाँ व्यवस्थाले विगतका समस्या दोहोरिन नदिने र श्रमिकको भर्ती लागत घटाउने उद्देश्य राखेको छ।
मलेसियाले बंगलादेशका लागि ठूलो संख्यामा श्रमिकको ढोका पुनः खोल्ने तयारी गरिरहेका बेला यसले नेपाली श्रमिकका लागि पनि चासोको विषय बनाएको छ। नेपाल र मलेसियाबीच पनि ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जाने भएकाले बंगलादेशमा लागू हुने नयाँ भर्ती प्रणाली, लागत र पारदर्शिताको प्रभावलाई नेपाली पक्षले समेत नजिकबाट हेर्नुपर्ने देखिन्छ।