भिजिट भिसामा यूएई आएर अलपत्र पर्दै नेपाली, दूतावासले गरायो सचेत

आप्रवासन आप्रवासन

दुबईस्थित नेपाली महावाणिज्यदूतावासले यूएई रोजगारीका नाममा भिजिट भिसा तथा व्यक्तिगत रोजगारी भिसाको प्रयोग गरी भइरहेको ठगीप्रति सचेत रहन नेपाली नागरिकलाई आग्रह गरेको छ।

महावाणिज्यदूतावासका अनुसार संस्थागत रूपमा वैधानिक तथा सुरक्षित माध्यमबाट यूएईमा रोजगारीका लागि आउने विकल्प हुँदाहुँदै पनि उल्लेख्य संख्यामा नेपाली नागरिक असुरक्षित तवरले यूएई आउने र त्यसपछि ठगीमा पर्ने गरेका घटना देखिएका छन्। केही नेपाली नागरिकलाई नेपालमै रहेका दलालले ठूलो रकम बुझाएर अन्य मुलुकको भिजिट भिसा प्रयोग गरी काठमाडौं विमानस्थलबाट हवाई यात्रा सुरु गर्न लगाउने र शारजाह वा दुबई ट्रान्जिट हुँदै सम्बन्धित मुलुकको पर्यटकका रूपमा यूएई प्रवेश गराउने गरिएको पाइएको दूतावासले जनाएको छ।

त्यसरी यूएई पुगेपछि व्यक्तिगत श्रम भिसा प्रयोग गरी रोजगारीमा लगाइदिने आश्वासन दिइए पनि कतिपय नेपालीले सम्बन्धित कम्पनीसँग सम्पर्क गर्न नसक्ने वा कम्पनीले समेत बेवास्ता गर्ने अवस्था भोगिरहेका छन्। रोजगारीको सुनिश्चितता नहुँदा उनीहरू अलपत्र पर्ने र आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेका घटना महावाणिज्यदूतावासमा आउने गरेको जनाइएको छ।

त्यस्तै, नेपालमै ठूलो रकम बुझाएर यूएईको भिजिट भिसा प्राप्त गर्ने र त्यहाँ पुगेपछि रोजगारी खोज्ने क्रममा पुनः दलालको फन्दामा पर्ने नेपालीको संख्या पनि उल्लेख्य रहेको दूतावासले जनाएको छ। यसरी ठगीमा परेका तथा कानुनी झमेलामा परेका नेपाली नागरिकबाट महावाणिज्यदूतावासमा निरन्तर गुनासो प्राप्त भइरहेको सूचनामा उल्लेख छ।

महावाणिज्यदूतावासले यूएईमा रोजगारीका लागि आउन चाहने नेपाली नागरिकलाई भिजिट भिसामार्फत नभई संस्थागत रोजगारी भिसामार्फत सुरक्षित बाटो अपनाउन पुनः आग्रह गरेको छ। रोजगारीका लागि विदेश आउनुअघि रोजगारदाता कम्पनी, कामको प्रकृति, पारिश्रमिक तथा अन्य सेवा–सुविधाबारे आवश्यक जानकारी लिएर मात्र प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।

दूतावासले यूएईमा रहेका आफन्त वा आफूले यसअघि काम गरिसकेको भरपर्दो कम्पनीमार्फत रोजगारी खोज्न सुझाव दिएको छ। विश्वासिलो कम्पनीबाहेक व्यक्तिगत रूपमा उपलब्ध हुने रोजगारी भिसाको भरमा यूएई नआउन पनि नेपाली नागरिकलाई सचेत गराइएको छ।

नेपाली महावाणिज्यदूतावास, दुबईले भदौ २६ गते अर्थात् सेप्टेम्बर ११, २०२६ मा जारी गरेको सूचनामार्फत यस्तो आग्रह गरेको हो। सूचनाले यूएई रोजगारीका नाममा आकर्षक आश्वासन दिएर ठूलो रकम असुल्ने तथा भिजिट भिसामार्फत विदेश पठाउने प्रवृत्तिबाट जोगिन नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन भनेको छ।

dubau mahabanijya dutabas nitice_page-0001