वैदेशिक रोजगारीमा पठाएका श्रमिकको अवस्था १५ दिनभित्र बुझ्न म्यानपावरलाई विभागको निर्देशन

आप्रवासन आप्रवासन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरूलाई आफूले पठाएका श्रमिकको अवस्थाबारे नियमित विवरण संकलन गरी विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले २०८३।६।१ गते सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, हित र सुरक्षालाई ध्यानमा राखी यस्तो विवरण अनिवार्य रूपमा उपलब्ध गराउन भनेको हो।

विभागले यसअघि मिति २०८३।३।४ को सूचना तथा मिति २०८३।३।३ को पत्र बमोजिम इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक ३/३ महिनामा आफूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकको अवस्थासम्बन्धी प्रगति विवरण विभागमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको जनाएको छ। सोहीअनुसार सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले उक्त विवरण संस्था अनुगमन शाखामा २०८३।६।२१ गतेभित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ।

यससँगै, इजाजतपत्र प्राप्त संस्थाले आफूले उडान गरेका श्रमिकहरूको थप विवरणसमेत संकलन गरी नियमित रूपमा बुझाउनुपर्नेछ। विभागका अनुसार वैदेशिक रोजगारीमा गएका प्रत्येक श्रमिक सुरक्षित रूपमा सम्बन्धित गन्तव्य मुलुकमा पुगे वा नपुगेको विवरण श्रमिक विदेश पठाएको १५ (पन्ध्र) दिनभित्र अनिवार्य रूपमा प्राप्त गर्नुपर्नेछ।

त्यस्तै, श्रमिकले वैदेशिक रोजगार सम्झौताबमोजिमको कार्य, तोकिएको तलब तथा अन्य सेवा–सुविधा प्राप्त गरे वा नगरेको विषयमा सम्बन्धित श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी विवरण तयार गर्नुपर्नेछ। यसरी संकलन गरिएको श्रमिकको अवस्था तथा विवरण इजाजतपत्र प्राप्त संस्थाले श्रमिकको उडान भएको २० (बीस) दिनभित्र अनिवार्य रूपमा वैदेशिक रोजगार विभागको संस्था अनुगमन शाखामा इमेलमार्फत पेश गर्नुपर्नेछ।

विभागले उक्त विवरण [email protected] इमेलमार्फत पेश गर्नुपर्ने जनाएको छ। श्रमिकको वास्तविक अवस्था तथा सम्झौताअनुसारको सेवा–सुविधाबारे जानकारी अद्यावधिक राख्ने उद्देश्यले विभागले यस्तो व्यवस्था गरेको हो।

विभागले यो निर्देशन पालना नगर्ने वा नेपाली श्रमिकको अवस्थाबारे सूचना अद्यावधिक नगर्ने इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही हुने स्पष्ट पारेको छ।